रवि–बालेन सहकार्यको हल्लाबीच असिम शाहको अर्थपूर्ण स्टाटस, रास्वपा वृत्तमा तरंग

काठमाडौं ।रवि लामिछाने र बालेन शाह बीच सहकार्यका लागि निर्णायक वार्ता भएको चर्चा चलिरहेका बेला रास्वपा वृत्तमा नयाँ तरंग पैदा भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद तथा बालेन शाहका निकट मित्र मानिने असिम शाहले सामाजिक सञ्जालमा गरेको एउटा स्टाटसले पार्टीभित्र हल्लाखल्ला मच्चाएको हो।
हिजो मात्र रास्वपाका उपसभापति डोल प्रसाद अर्यालले  ‘बालेन शाहलाई प्रधानमन्त्री बनाउने कुनै सम्झौता भएको बारे आफूलाई जानकारी नभएको’ प्रतिक्रिया दिएका थिए। त्यसको भोलिपल्टै असिम शाहले सामाजिक सञ्जालमा निकै अर्थपूर्ण मानिएको स्टाटस सार्वजनिक गरेका हुन्।
बालेन शाहका अत्यन्त निकटका व्यक्तिका रूपमा चिनिने शाहले बालेन प्रधानमन्त्री बनेपछि मन्त्री चयन प्रक्रिया कसरी हुने भन्ने संकेत गर्दै स्टाटस लेखेका छन्।
उनले लेखेका छन्—
“मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन। केही नगरे पनि हुन्छ। जब बालेन प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैं छनोट गरेर बनाउनुहुनेछ। उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ।”
उनको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी रास्वपा र बालेन शाहबीच सम्भावित सहकार्य, नेतृत्व र भावी सरकार गठनको बहस चलिरहेका बेला यस्तो स्टाटस सार्वजनिक भएपछि विभिन्न अड्कलबाजी सुरु भएका छन्।

Facebook Comments Box
TOP
451 Shares