

रास्वपाको ऐतिहासिक जितपछि बालेनको क्याबिनेट कस्तो बन्ला ? ‘स्पिड, परिणाम र जवाफदेहिता’मा केन्द्रित सरकारको संकेत
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक परिदृश्यमा ऐतिहासिक मोड ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै कुल १८२ सिट हासिल गरेको छ, जुन दुईतिहाइ बहुमतभन्दा मात्र दुई सिट कम हो।
पुराना स्थापित राजनीतिक शक्तिहरूलाई पछि पार्दै प्राप्त भएको यो नतिजाले अब देशको शासन व्यवस्था कस्तो दिशामा अघि बढ्छ भन्नेबारे व्यापक चासो पैदा गरेको छ। निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन्द्र शाह (बालेन) नेतृत्वको सम्भावित सरकार कस्तो हुने भन्ने विषय अहिले देशव्यापी जिज्ञासाको केन्द्र बनेको छ।
काठमाडौँको सडकबाट सुरु भएको ‘बालेन लहर’ हिमाल, पहाड र तराईसम्म फैलिँदै गएपछि रास्वपाले अप्रत्याशित सफलता हात पारेको हो। बालेनको कार्यशैली, निर्णय क्षमता र परिणाममुखी नेतृत्वमा विश्वास गर्दै जनताले दिएको यो अभूतपूर्व मतलाई कसरी न्याय गरिन्छ भन्ने प्रश्न अब बन्ने मन्त्रिमण्डलसँग जोडिएको छ।
‘स्पिड’ र परिणाममुखी टोली खोज्दै बालेन
सामाजिक सञ्जालमा सम्भावित मन्त्रीहरूको नामबारे विभिन्न अड्कलबाजी भइरहे पनि बालेन र उनको सचिवालय भने संयमित ढंगले क्याबिनेट गठनको गृहकार्यमा जुटेको बताइएको छ।
बालेनको कार्यशैली नजिकबाट चिन्नेहरूका अनुसार उनले खोजेको पहिलो गुण नै ‘स्पिड’ अर्थात् कामको गति हो। प्रधानमन्त्रीको रूपमा उनी राजनीतिक भागबण्डाभन्दा पनि एउटै सोच र एउटै गतिमा काम गर्न सक्ने टोली बनाउन चाहन्छन्।
बालेन निकट एक स्रोतका अनुसार,
“क्याबिनेटलाई राजनीतिक भागबण्डाको अखडा बनाउने सोच छैन। सिङ्गो मन्त्रिपरिषद् एउटै लय र एउटै गतिमा काम गर्न सक्ने व्यक्तिहरूबाट बनाउने तयारी भइरहेको छ।”
विगतमा देखिएको ‘यो मेरो मान्छे र त्यो तेरो मान्छे’ भन्ने दलीय संस्कारबाट सरकारलाई टाढा राख्ने प्रयासमा नेतृत्व निकै सचेत देखिएको बताइन्छ। मन्त्री चयन गर्दा विवादरहित, सक्षम र परिणाम दिन सक्ने व्यक्तिलाई प्राथमिकता दिइने तयारी गरिएको छ।
पार्टीभित्रकै विज्ञलाई प्राथमिकता
बाहिरबाट विज्ञ ल्याएर मन्त्री बनाउने विषयमा भने अहिलेसम्म औपचारिक निर्णय भइसकेको छैन। रास्वपाका नवनिर्वाचित सांसदहरू आफैँ विभिन्न क्षेत्रका विशेषज्ञ भएकाले उनीहरूलाई नै प्राथमिकता दिने सम्भावना बलियो रहेको स्रोतले जनाएको छ।
रास्वपाभित्र डाक्टर, इन्जिनियर, अर्थशास्त्री, कानुनविद् तथा व्यवस्थापन क्षेत्रमा दक्ष व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेकाले मन्त्रालयहरू पनि उनीहरूको दक्षता अनुसार बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।
“जो मन्त्रीले जनतालाई देखिने गरी काम गर्न सक्छ, उसैलाई विभागीय जिम्मेवारी दिइनेछ,” बालेन निकट एक सांसदले बताए। ‘सर्ट लिस्ट’बाट अन्तिम छनोट
मन्त्रिपरिषद् गठनलाई व्यवस्थित बनाउन सम्भावित मन्त्रीहरूको ‘सर्ट लिस्ट’ तयार पार्ने तयारी गरिएको छ। उक्त सूचीलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्याल लगायत शीर्ष नेतासँगको समन्वयमा अन्तिम रूप दिइने बुझिएको छ।
निर्वाचन आयोगबाट समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक भएपछि मात्रै औपचारिक निर्णय प्रक्रियाले गति लिने र सरकार गठनकै समयमा मन्त्रीहरूको नाम सार्वजनिक गरिने तयारी रहेको स्रोत बताउँछ।
‘टाइम कार्ड’सहित १०० दिनको कार्ययोजना
यसपटकको सम्भावित क्याबिनेटको सबैभन्दा रोचक पक्ष भने ‘टाइम कार्ड’ अवधारणा हो। काठमाडौँ महानगरपालिकामा प्रयोग गरिएको कार्यशैलीलाई संघीय सरकारमा पनि लागू गर्ने तयारी भइरहेको बताइएको छ।
स्रोतका अनुसार मन्त्रीहरूले शपथ ग्रहण गरेसँगै आफ्नो मन्त्रालयको पहिलो १०० दिनको स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्नेछ। निर्धारित समयभित्र अपेक्षित प्रगति नभए मन्त्रीहरूलाई जवाफदेही बनाउने व्यवस्था गरिने तयारी छ।
जेन–जी र समावेशी प्रतिनिधित्व
बालेनको मन्त्रिपरिषद्मा युवा पुस्ताको प्रतिनिधित्वलाई पनि विशेष प्राथमिकता दिइने संकेत देखिएको छ। कम्तीमा एक जना जेन–जी पुस्ताका मन्त्री समावेश गरिने तयारी भइरहेको बताइन्छ।
साथै महिला, आदिवासी जनजाति, दलित र मधेसी समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखिएको स्रोत बताउँछ।
पहिलो निर्णय : भ्रष्टाचार नियन्त्रण र सेवा सुधार
रास्वपाका नवनिर्वाचित सांसदहरूका अनुसार सरकार गठनपछि पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवामा सुधार हुनेछ।
सरकारी कार्यालयमा साना–साना कामका लागि लाइन बस्नुपर्ने र शक्तिकेन्द्र धाउनुपर्ने अवस्थालाई अन्त्य गर्ने गरी सेवा प्रणाली सरल बनाउने योजना सरकारको प्रारम्भिक एजेन्डा बन्ने बताइएको छ।
यसका साथै मन्त्रालयहरूको संख्या घटाउने वा केही मन्त्रालय गाभ्ने विषयमा पनि कानुनी तथा प्राविधिक परामर्श भइरहेको छ। बालेनले सानो तर छरितो मन्त्रिमण्डल बनाउने संकेत देखिएको छ।
रास्वपाको ऐतिहासिक विजयसँगै अब बन्ने बालेन नेतृत्वको सरकारबाट जनताले तीव्र काम, पारदर्शिता र परिणाममुखी शासनको अपेक्षा गरेका छन्। यही अपेक्षालाई पूरा गर्न सक्ने क्याबिनेट गठन गर्न सकिएमा नेपालको राजनीतिक अभ्यासमा नयाँ अध्याय सुरु हुने विश्लेषकहरूको भनाइ छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२० घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



