काठमाडौंमा ट्राफिक प्रहरीको ‘सर्प्राइज चेकिङ’ : मापसे गर्दै सवारी चलाउने १२ चालक पक्राउ

काठमाडौं:
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार बिहान गरिएको ट्राफिक प्रहरीको ‘सर्प्राइज चेकिङ’ का क्रममा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाइरहेका १२ जना चालक पक्राउ परेका छन्।

बिहानै गरिएको विशेष जाँचका क्रममा यात्रु तथा विद्यार्थी बोक्ने जस्ता संवेदनशील जिम्मेवारी भएका चालकहरू नै नशाको अवस्थामा सवारी चलाउँदै गरेको भेटिएपछि ट्राफिक प्रहरीले कडा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेमा दुई वटा यात्रुवाहक बस, एउटा विद्यालय बस, दुई वटा मिनी ट्रक, एउटा सुमो, एउटा माइक्रोबस र एउटा टेम्पोका चालक रहेका छन्। त्यस्तै, एउटा पर्यटक भ्यान र तीन वटा निजी कारका चालकले पनि मापसे गरेर सवारी चलाएको पुष्टि भएको छ।

बिहानको व्यस्त समयमा विद्यालय जाने बालबालिका र काममा निस्किएका सर्वसाधारण यात्रुको सुरक्षालाई बेवास्ता गर्दै चालकहरूले यस्तो गम्भीर लापरबाही गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले मापसे नियन्त्रण अभियानलाई अझ कडाइका साथ अघि बढाउने चेतावनी दिँदै सवारी चालकहरूलाई जिम्मेवार र सचेत हुन आग्रह गरेको छ। साथै, यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम उच्च बनाउने भएकाले नियम उल्लंघन गर्नेहरूलाई कुनै छुट नदिइने स्पष्ट पारेको छ।

Facebook Comments Box
TOP
196 Shares