फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुदन गुरुङको दाबी: “म ठगिएँ, कानुनी उपचार खोज्छु”

काठमाडौं । पोखराको फेवाताल किनारमा देखिएको जग्गा विवादबारे गृहमन्त्री सुदन गुरुङ ले आफू ठगीमा परेको दाबी गरेका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल क्षेत्रभित्र ६५ मिटर मापदण्ड उल्लंघन गरी बनेका संरचना हटाउने अभियान तीव्र भइरहेका बेला मन्त्री गुरुङको नाम जोडिएको जग्गा पनि सोही मापदण्डभित्र परेको खुलेपछि उनले स्पष्टीकरण दिएका हुन्।

मन्त्री गुरुङले केही वर्षअघि ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने उद्देश्यले आफू सहित तीन जनाले फेवाताल किनारको जग्गा लिजमा लिएको बताए। तर जग्गा लिँदा नै जग्गाधनीले उक्त क्षेत्र ६५ मिटर मापदण्डभित्र नपर्ने भन्दै गलत जानकारी दिएको र लालपुर्जामा समेत सुरक्षित देखाइएको दाबी उनले गरेका छन्।

“देशमै केही गरौँ भन्ने सोचका साथ ठूलो लगानी र सपना बोकेर सुरु गरेको काममा धोका भयो,” मन्त्री गुरुङको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ, “वास्तविकता थाहा पाएलगत्तै निर्माण कार्य रोकेका हौँ र अब ठगीविरुद्ध कानुनी उपचार खोज्नेछौँ।”

उनका अनुसार पछि पोखरा महानगरपालिका बाट बुझ्दा उक्त जग्गा मापदण्डभित्रै पर्ने पुष्टि भएपछि नैतिक जिम्मेवारी बोध गर्दै लगानी र निर्माण दुवै रोकिएको हो।

यद्यपि, मन्त्री गुरुङले आफ्नो जग्गा परे पनि कानुन कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मापदण्डअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

फेवाताल संरक्षणका लागि भइरहेको अतिक्रमण हटाउने अभियानबीच मन्त्रीकै नाम जोडिएपछि विषय थप चर्चामा आएको छ।

Facebook Comments Box
TOP
344 Shares