साना तथा मझौला व्यवसायलाई राहत : ३ करोडसम्मका कर्जामा जोखिम भार घटाउने राष्ट्र बैंकको निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यवसाय (SME) लाई प्रोत्साहन गर्ने उद्देश्यले ३ करोड रुपैयाँसम्मका कर्जामा जोखिम भार घटाउने महत्वपूर्ण निर्णय गरेको छ। बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको नयाँ एकीकृत निर्देशनमार्फत यस्तो व्यवस्था लागू गरिएको हो।

यसअघि यस्ता कर्जामा शतप्रतिशत जोखिम भार लाग्दै आएकोमा अब निश्चित शर्त पूरा भएका कर्जामा भार घटाइनेछ। विशेषगरी कृषि, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जा यस सुविधाअन्तर्गत पर्नेछन्।

राष्ट्र बैंकका अनुसार, कर्जाको बीमा गरिएको वा पर्याप्त धितो रहेको अवस्थामा मात्र यस्तो सहुलियत लागू हुनेछ। यसले बैंकहरूलाई यस्ता क्षेत्रमा लगानी गर्न थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा समेत साना तथा मझौला कर्जाको जोखिम भार घटाउने विषय समावेश गरिएको थियो। सोही नीतिलाई कार्यान्वयन गर्न र राष्ट्र बैंककै एसएमई कर्जा विस्तार कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो कदम चालिएको हो।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार, यो व्यवस्थाले उत्पादनशील क्षेत्रको विकास, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Facebook Comments Box
TOP
101 Shares