मधेशकै उत्कृष्ट बन्यो पर्सा प्रहरी, एसपी सुदीपराज पाठक सम्मानित

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा मधेश प्रदेशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषित भएको छ। वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गर्दै पर्साले प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो।

मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको मूल्याङ्कनअनुसार शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण, फरार अभियुक्त पक्राउ, राजस्व चुहावट रोकथाम, प्रहरी प्रशासनको प्रभावकारी सञ्चालन तथा नागरिकमैत्री सेवा प्रवाहलगायतका सूचकमा पर्सा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ।

उत्कृष्ट कार्यसम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सालाई ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय’ को सम्मान प्रदान गरिएको हो।

मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित विशेष समारोहमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकलाई प्रशंसापत्र हस्तान्तरण गर्दै सम्मानित गरेका थिए।

एसपी पाठकको नेतृत्वमा पर्सा प्रहरीले अपराध नियन्त्रण, तस्करीविरुद्धको अभियान, फरार अपराधी पक्राउ तथा जनमुखी प्रहरी सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले उच्च मूल्याङ्कन गरेको जनाएको छ।

यो सम्मानले पर्सा प्रहरीको कार्यक्षमता, व्यावसायिकता र सेवाप्रतिको प्रतिबद्धतालाई थप स्थापित गरेको प्रहरी अधिकारीहरूको भनाइ छ। साथै आगामी दिनमा अझ प्रभावकारी रूपमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको विश्वास अभिवृद्धि गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
170 Shares