मापसेका कारण वैशाखमा १२४ दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने कारण देशभर सवारी दुर्घटनाको जोखिम बढ्दै गएको देखिएको छ। नेपाल प्रहरीका अनुसार गत वैशाख महिनामा मात्रै मापसेका कारण १२४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार काठमाडौं उपत्यकाभित्र मात्रै ३७ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा दुई जनाको मृत्यु भएको र ५० जना घाइते भएका छन्।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा ३५ दुर्घटनामा दुई जनाको मृत्यु र ५३ जना घाइते भएका छन्। मधेस प्रदेशमा २० दुर्घटना भए पनि मानवीय क्षति नभई २७ जना घाइते भएका छन्। बागमती प्रदेशमा १२ दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन्।

त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु र तीन जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा नौ दुर्घटनामा तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन्। कर्णाली प्रदेशमा तीन दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा तीन दुर्घटनामा चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार मापसेका कारण सवारी दुर्घटनाको जोखिम निरन्तर बढ्दै गएको छ। विशेषगरी रातिको समय, सार्वजनिक बिदा तथा चाडपर्वका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति बढी देखिने गरेको छ।

प्रवक्ता काफ्लेले मापसे गरी सवारी चलाउनु गम्भीर कानुनी अपराध मात्र नभई मानव जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य भएको बताए। मादक पदार्थ सेवनपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ हुने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको सम्भावना उच्च हुने उनले उल्लेख गरे।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार ट्राफिक प्रहरीले मापसे नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको छ। शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा विशेष चेकजाँच कडा पारिएको छ।

उनले चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गर्दै सुरक्षित यात्रामा ध्यान दिन आग्रह गरेका छन्। मापसे नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम पनि निरन्तर सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
372 Shares