बाजुरा–हुम्ला सीमा विवाद छानबिन गर्न दुई समिति गठन, घटनास्थलमा सुरक्षाकर्मी परिचालन

काठमाडौं । बाजुरा र हुम्ला जिल्लाबीचको सीमावर्ती क्षेत्रमा देखिएको विवाद तथा त्यसपछि उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रण गर्न सरकारले दुई छुट्टाछुट्टै छानबिन समिति गठन गरेको छ । घटनाको सुरक्षा अवस्था अध्ययन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा एक समिति र प्राविधिक तथा नापीसम्बन्धी पक्षको अध्ययन गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा अर्को समिति गठन गरिएको हो ।

गत ७ जेठमा बाजुरा–हुम्ला सीमाक्षेत्र रानीसैन–लाम्पाटा–च्याचौर क्षेत्रमा भएको झडपमा ६ जना घाइते भएपछि विवाद थप चर्किएको थियो । लाम्पाटा क्षेत्रमा बाजुरा प्रहरीद्वारा अस्थायी प्रहरी चौकी निर्माणको काम अघि बढाइएपछि उक्त भूभाग हुम्ला जिल्लाभित्र पर्ने दाबी गर्दै स्थानीय पक्षबीच विवाद उत्पन्न भएको हो ।

स्थिति ६ दिनसम्म पनि सामान्य नबनेपछि गृह तथा भूमि व्यवस्था मन्त्रालय मातहतको संयुक्त बैठकले दुवै समिति गठन गर्ने निर्णय गरेको हो । आइतबार गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवालाको बैठकले समितिहरूलाई तत्काल घटनास्थलमा पुगेर अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष टोली घटनास्थलमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ । साथै, सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा शान्ति–सुरक्षा कायम राख्न जिल्ला सुरक्षा समितिलाई आवश्यक रणनीति अवलम्बन गर्न निर्देशन दिइएको छ । मन्त्रालयले दुवै जिल्लाका नागरिकलाई संयमता अपनाउनसमेत आग्रह गरेको छ ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन तयार गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा छुट्टै प्राविधिक समिति गठन गरेको हो । भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले दुवै समितिबाट प्राप्त प्रतिवेदनका आधारमा विवाद समाधानको दीर्घकालीन निष्कर्ष निकाल्ने जनाएको छ ।

Facebook Comments Box
TOP
342 Shares