दलित महिलामाथि कुटपिट आरोपमा सिरहामा एक जना पक्राउ

सिरहा । सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नरहा गाउँपालिका–३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डलमाथि कुटपिट गरेको आरोप छ । गत वैशाख २७ गते अपराह्न भैँसी यादवको खेतमा गएको विषयलाई लिएर विवाद हुँदा मण्डलमाथि कुटपिट भएको बताइएको छ ।

घटनापछि पीडित मण्डलले आफूलाई अन्याय भएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएकी थिइन् । सोही जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी अनुमति लिएर इलाका प्रहरी कार्यालय चोहर्वाको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका यादवलाई हाल जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन् ।

Facebook Comments Box
TOP
483 Shares