कांग्रेस नेता शेखर कोइराला विरुद्ध गम्भीर आरोप, अडियो सार्वजनिक सर्लाही–४ मा अन्तर्घातको दाबी, पार्टीभित्र तरंग

काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालामाथि आफ्नै पार्टीका महामन्त्री गगन थापा लाई कमजोर पार्ने उद्देश्यले सर्लाही–४ मा रास्वपा उम्मेदवारलाई सहयोग गर्न खोजेको गम्भीर आरोप लागेको छ। यस सम्बन्धी दाबी सहितको अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि पार्टीभित्र तीव्र बहस सुरु भएको छ।
सार्वजनिक अडियोमा कोइरालाले आफ्ना स्वकीय सचिवमार्फत कार्यकर्ता परिचालन गरी सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह लाई जिताउने रणनीति बनाएको दाबी गरिएको छ। उक्त अडियोमा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने योजना रहेको आरोप लगाइएको छ।
यो प्रकरण बाहिरिएसँगै नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किएको छ। पार्टीका विभिन्न तहका नेताहरूबीच आरोप–प्रत्यारोप सुरु भएको स्रोतहरूले बताएका छन्। विशेषगरी कोइराला र थापा पक्षबीचको सम्बन्धलाई लिएर नयाँ प्रश्न उठेको छ।
यता, शेखर कोइराला पक्षले भने विज्ञप्ति जारी गर्दै अडियोमा कुनै सत्यता नरहेको दाबी गरेको छ। उक्त अडियो नियोजित रूपमा तयार पारिएको र पार्टीभित्र भ्रम सिर्जना गर्ने उद्देश्यले फैलाइएको आरोप कोइराला पक्षको छ। “यो राजनीतिक चरित्रहत्या गर्ने प्रयास हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
घटनाबारे पार्टी नेतृत्वले आन्तरिक छलफल थालेको बताइएको छ। यद्यपि आधिकारिक रूपमा कुनै अनुसन्धान समिति गठन गरिएको छैन।
सार्वजनिक भएको अडियोको सत्यता परीक्षण हुन बाँकी रहेकाले यस विषयमा थप तथ्य सार्वजनिक हुन बाँकी छ।

Facebook Comments Box
TOP
423 Shares