प्रहरी कमजोर हुँदा देश असुरक्षित हुन्छ : जेन–जी आन्दोलनपछि आन्तरिक सुरक्षामा नयाँ चुनौती

काठमाडौं ।
प्रहरीलाई कमजोर पारेर कसैको भलो हुँदैन । प्रहरी संस्था कमजोर हुनु भनेको देशको सुरक्षा संरचना नै कमजोर हुनु हो । समाज बिथोल्याउने तत्वहरूले सधैं पहिलो प्रहार सुरक्षा संयन्त्रमै गर्छन् । त्यसैले प्रहरी संस्थालाई सुदृढ, सक्षम र मनोबलयुक्त बनाउनु समयको आवश्यकता बनेको छ ।
हालै सम्पन्न ‘जेन–जी’ आन्दोलनपछि नेपालको आन्तरिक सुरक्षा क्षेत्रमा नयाँ चुनौतीहरू देखापरेका छन् । आन्दोलनका क्रममा केही स्थानमा प्रहरी चौकीमा आगजनी, प्रहरीमाथि आक्रमण, हत्या, नागरिकका घरमा लुटपाट तथा आगजनी, व्यवसायिक प्रतिष्ठानमा तोडफोड र चोरीजस्ता घटनाहरू सार्वजनिक भए । कतिपय ठाउँमा प्रहरीलाई आत्मसमर्पण गर्न दबाब दिने प्रयाससमेत भएको बताइएको छ । यस्ता घटनाले तत्कालीन परिस्थिति अस्थिर बनाउनुका साथै दीर्घकालीन रूपमा प्रहरी संगठनको मनोबल कमजोर पार्ने जोखिम उत्पन्न गरेको विश्लेषण गरिएको छ ।
नेपाल प्रहरी देशको सबैभन्दा नजिकको र प्रत्यक्ष जनसम्पर्कमा रहने सुरक्षा निकाय हो । कानून कार्यान्वयन, शान्ति–सुरक्षा कायम, अपराध नियन्त्रण र नागरिकको जीवन–सम्पत्तिको संरक्षणमा यसको भूमिका महत्वपूर्ण रहँदै आएको छ । तर पछिल्ला घटनाक्रमलाई आधार बनाएर केही अराजक तथा आपराधिक समूहहरूले डिउटीमा खटिएका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गर्ने, मनोवैज्ञानिक दबाब सिर्जना गर्ने तथा संगठनको छवि धुमिल पार्ने प्रयास गरिरहेको संकेत देखिएको छ । यसले शान्ति–सुरक्षाको अवस्थालाई थप जटिल बनाउने खतरा औंल्याइएको छ ।
सुरक्षा विज्ञहरूका अनुसार प्रहरी संस्थाको मनोबल कमजोर पारिँदा त्यसको प्रत्यक्ष असर समाजमा पर्छ । अपराध नियन्त्रणको क्षमता घट्छ, नागरिकमा असुरक्षाको भावना बढ्छ र अस्थिरताले प्रश्रय पाउँछ । यस्ता परिस्थितिमा अराजक र आपराधिक समूहहरू सक्रिय हुने सम्भावना बढ्दै जान्छ र कानूनको शासन कमजोर बन्दै जान्छ ।
विशेषज्ञहरू प्रहरी संगठनलाई राजनीतिक प्रभावबाट मुक्त, प्रविधिमैत्री, स्रोत–साधन सम्पन्न र व्यावसायिक बनाउँदै लैजानुपर्नेमा जोड दिन्छन् । साथै नागरिक र सुरक्षाकर्मीबीच विश्वासको सम्बन्ध सुदृढ गर्नु पनि उत्तिकै आवश्यक रहेको उनीहरूको भनाइ छ ।
राष्ट्रको स्थायित्व र समृद्धिको आधार नै शान्ति–सुरक्षा हो । त्यसैले प्रहरीलाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध सचेत रहँदै संस्थागत सुधार, मनोबल अभिवृद्धि र कानूनी शासन सुदृढ पार्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने देखिन्छ । प्रहरी बलियो हुँदा मात्र समाज सुरक्षित र राष्ट्र सुदृढ हुन सक्छ ।

Facebook Comments Box
TOP
447 Shares