

३५ हजार सुरक्षाकर्मीको कडा घेरा : कोशीमा ‘हाइ अलर्ट’ बीच प्रतिनिधिसभा निर्वाचन
विराटनगर – कोशी प्रदेश मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा संयन्त्रले अभूतपूर्व तयारी गरेको छ। ‘मास्टर प्लान’ लागू गर्दै बहु–तहको सुरक्षा घेरा तयार पारिएको छ भने प्रदेशभर ३५ हजारभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालित भएका छन्।
प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा भयरहित, निष्पक्ष र व्यवस्थित मतदान सुनिश्चित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना बीच त्रिपक्षीय समन्वयलाई उच्च प्राथमिकता दिइएको छ। सुरक्षा निकायका अनुसार यसपटक ‘दृश्य’ र ‘अदृश्य’ दुवै रणनीतिमार्फत कडा निगरानी र सक्रियता अपनाइएको छ।
३५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचन सुरक्षाका लागि मात्रै ३५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। तीमध्ये १२ हजार नेपाल प्रहरी र २३ हजार म्यादी प्रहरी रहेका छन्।
यसका अतिरिक्त सशस्त्र प्रहरी बलका तर्फबाट ८ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको छ। आवश्यकता अनुसार थप रिजर्भ फोर्स परिचालन गर्न सकिने व्यवस्था मिलाइएको सुरक्षा स्रोतले जनाएको छ।
सुरक्षा मूल्यांकनअनुसार प्रदेशका १ हजार ९०७ मतदान स्थलमध्ये ४३९ स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। ती क्षेत्रमा अतिरिक्त सुरक्षा घेरा, निरन्तर निगरानी, नियमित गस्ती तथा आकस्मिक जाँचलाई कडाइ गरिएको छ।
मोबाइल टोली र रिजर्भ फोर्स २४ घण्टा तयारीमा
प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआईजी विनोद घिमिरेले सानातिना घटनालाई पनि गम्भीरतापूर्वक लिँदै तत्काल ‘रेस्पोन्स’ गर्ने रणनीति अपनाइएको जानकारी दिए।
उनका अनुसार मतदानअघि, मतदानका दिन र मतगणनासम्म विशेष सुरक्षा योजना लागू गरिनेछ। “मोबाइल टोली र रिजर्भ फोर्स चौबिसै घण्टा तयारी अवस्थामा छन्। सूचना संकलन र विश्लेषणलाई तीव्र बनाइएको छ,” उनले बताए।
उनले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्दै कुनै पनि प्रकारको अवाञ्छित गतिविधि सह्य नहुने स्पष्ट पारे।
३५ लाखभन्दा बढी मतदाता, ४ हजारभन्दा बढी मतदान केन्द्र
प्रदेशभर ३५ लाख ७४ हजार २८६ मतदाता रहेका छन्। मतदानका लागि ४ हजार २७० मतदान केन्द्र कायम गरिएका छन्। सबै केन्द्रमा सुरक्षाकर्मीको प्रत्यक्ष उपस्थिति रहनेछ भने अति संवेदनशील र दुर्गम क्षेत्रमा थप सुरक्षा बल परिचालन गरिने जनाइएको छ।
सुरक्षा निकायका अनुसार हाल प्रदेशको समग्र सुरक्षा अवस्था सन्तोषजनक छ। तर, निर्वाचनजस्तो संवेदनशील समयमा कुनै पनि जोखिम नलिन उच्च सतर्कता अपनाइएको छ।
‘दृश्य’ र ‘अदृश्य’ रणनीतिमा कडा निगरानी
यसपटक सुरक्षा संयन्त्रले खुला गस्ती, चेकजाँच र सुरक्षाकर्मीको बाक्लो उपस्थितिसँगै गोप्य निगरानी, सूचना संकलन र विश्लेषणलाई समान महत्व दिएको जनाएको छ।
सीमा नाका, प्रमुख राजमार्ग, संवेदनशील बस्ती तथा भीडभाड हुने क्षेत्रहरूमा निगरानी बढाइएको छ। आवश्यक परे हेलिकप्टर र विशेष टोली परिचालन गर्ने तयारीसमेत रहेको सुरक्षा स्रोतले जनाएको छ।
सुरक्षा निकायको दाबी छ—यो बहुआयामिक रणनीतिले मतदान प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
कोशी प्रदेशमा निर्वाचनको माहोल तातिरहेको बेला सुरक्षा संयन्त्रको यस्तो सशक्त तयारीले कुनै पनि प्रकारको अवाञ्छित गतिविधिलाई निस्तेज पार्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२१ घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



