नेपाल प्रहरीले आसन्न निर्वाचनका लागि देशव्यापी विशेष सुरक्षा योजना लागू

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरिएको जनाएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारको स्पष्ट कार्यदिशाअनुरूप निर्वाचन सम्पन्न गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्। उनले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकता दिँदै देशभरका सुरक्षा प्रमुखहरूसँग नियमित समन्वय, अनुगमन र ब्रिफिङमार्फत तयारीलाई तीव्रता दिएका छन्।
सुरक्षा निकायको विश्लेषणअनुसार, विगतको तुलनामा वर्तमान निर्वाचन अति संवेदनशील र चुनौतीपूर्ण वातावरणमा हुने सम्भावना रहेको छ। मतदान केन्द्र र स्थलहरूको संख्या वृद्धि, अतिसंवेदनशील तथा विकट भूभागमा रहेका केन्द्रहरू र राजनीतिक गतिविधिका विविधता सुरक्षा व्यवस्थापनका लागि चुनौतीपूर्ण देखिएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार, मतदानस्थलहरू अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरी तदनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ। न्यूनतम स्रोत र साधनको अधिकतम उपयोग गर्दै देशभरका मतदान केन्द्रमा आवश्यक जनशक्ति खटाइएको छ। केही दुर्गम क्षेत्रमा सवारीसाधनको अभाव हुँदाहुँदै पनि सुरक्षाकर्मी पैदल गस्तीमा खटिएका छन्। पुराना हतियार र सवारीसाधन सीमितताभन्दा माथि गएर उच्च मनोबलका साथ प्रहरी परिचालन हुनु संगठनात्मक दृढताको उदाहरण भएको सुरक्षा विश्लेषकहरूले बताएका छन्।
प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले वरिष्ठ प्रहरी अधिकृतहरू समेत प्रत्यक्ष मतदानस्थलमा खटाइएको जानकारी दिएका छन्। उनका अनुसार, एआइजी स्तरको कमाण्ड संरचनामार्फत प्रदेश र विशेष क्षेत्रको समन्वय गरिएको छ भने जिल्लामा एसएसपी तथा एसपीको नेतृत्वमा एकीकृत सुरक्षा संयन्त्र सञ्चालनमा छ।
जेनजी आन्दोलनपछि खस्किएको प्रहरी मनोबल पुनः उकास्नु चुनौतीपूर्ण भए पनि, वर्तमान नेतृत्वले संगठनलाई पुनः क्रियाशील र एकताबद्ध बनाएको सुरक्षा क्षेत्रका जानकारहरूले बताएका छन्। समाजशास्त्री शारदा बेलबासेका अनुसार, प्रहरी महानिरीक्षक कार्कीले कार्यकालको प्रारम्भिक १०० दिनमै अनुशासन, समन्वय र समर्पणको भावना अभिवृद्धि गर्ने वातावरण निर्माण गरेका छन्।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा सुरक्षा विश्लेषक उमेशचन्द्र रिजालले पनि प्रहरीको पछिल्लो चरणका कामहरू सकारात्मक र विश्वसनीय रहेको मूल्याङ्कन गरेका छन्। उनले भने, “प्रतिकूल राजनीतिक अवस्था, सुरक्षा चुनौती र संगठनभित्रको मनोवैज्ञानिक दबाबबीच पनि नेतृत्वले संगठनलाई एकताबद्ध बनाउँदै निर्वाचन सुरक्षामा केन्द्रित गर्नु सुखद् संकेत हो।”

Facebook Comments Box
TOP
200 Shares