बाँके–२ बाट मोहम्मद ईश्तियाक राई विजयी, एमालेले खोल्यो जितको खाता

काठमाडौं । बाँके क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका उम्मेदवार मोहम्मद ईश्तियाक राई विजयी भएका छन् । उनले २४ हजार ६२६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत प्राप्त गरे। ईश्तियाकले करिब ६ हजार मतान्तरले जित हात पार्दै एमालेका लागि यस निर्वाचनमा पहिलो जित दिलाएका छन्।
मतगणनाको सुरुदेखि नै अग्रता कायम राखेका ईश्तियाकको जित एमालेका लागि ठूलो राहत बनेको छ। देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर देखिँदा उक्त पार्टीले १२ स्थानमा जित निकालिसकेको थियो भने एमालेले जितको खाता खोल्न सकेको थिएन। यसअघि नेपाली कांग्रेसले ४ र नेकपा माओवादी केन्द्रले २ स्थानमा जित हासिल गरेका थिए। यस्तो अवस्थामा ईश्तियाकको जितले एमालेलाई सान्त्वना मात्रै नभई थप उत्साहसमेत दिएको छ।
ईश्तियाक राई नवप्रवेशी एमाले नेता हुन्। उनले मनोनयन दर्ताको अघिल्लो दिन अर्थात् माघ ५ गते अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी एमाले प्रवेश गरेका थिए। एमाले प्रवेश गर्दा उनले बाँके–२ बाट उम्मेदवारी पाउने सर्त राखेका थिए, जुन अन्ततः सफल सावित भयो।
उनको राजनीतिक यात्रा निकै उतारचढावपूर्ण रहँदै आएको छ। ०३६ सालमा जन्मिएका ईश्तियाकले ०५३ सालमा राप्रपाबाट राजनीति सुरु गरेका थिए। ०६४ सालको मधेश आन्दोलनपछि उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरममा सक्रिय बने। सोही पार्टीबाट उम्मेदवार बनेर उनले बाँके–२ बाट ०६४ र ०७४ सालको निर्वाचन जितेका थिए। तर ०७० र ०७९ सालको निर्वाचनमा भने उनले पराजय भोग्नुपरेको थियो।
पहिलोपटक सांसद निर्वाचित भएपछि उनी श्रम तथा यातायात मन्त्री बनेका थिए। त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। जसपामा रहँदा उनी पार्टीको केन्द्रीय महासचिवसमेत बनेका थिए।
यसपटक भने पार्टी परिवर्तन गर्दै एमालेबाट उम्मेदवार बनेका ईश्तियाकले बाँके–२ मा प्रभावशाली जित निकाल्दै आफ्नो राजनीतिक पुनरागमनसँगै एमालेको जितको खाता पनि खोलेका छन्।

Facebook Comments Box
TOP
137 Shares