पूजापाठ’को आवरणमा ठगी: राजधानीमा स्वनामधारी ज्योतिष गुरुको धन्दा, सर्वसाधारण शिकार

काठमाडौं।
पूजापाठ र धार्मिक आस्थालाई सामान्यतया सदाचार र नैतिकतासँग जोडिन्छ। तर, यही आस्थालाई हतियार बनाएर सर्वसाधारणलाई ठग्ने घटनाहरू राजधानीमै बढ्दै गएको पाइएको छ।
काठमाडौंको गोठाटार घर भएका एक स्वनामधारी ‘ज्योतिष गुरु’ले जमलस्थित सेतोढोकाभित्र रहेको साकुरा कम्प्लेक्समा कार्यालय स्थापना गरी सामाजिक सञ्जालमार्फत आफ्नो सेवा प्रचार गर्दै सर्वसाधारणलाई ठगी गर्ने गरेको आरोप लागेको छ। उनी विशेषगरी टिकटक र फेसबुकमार्फत आफ्नो पहुँच विस्तार गर्दै आएका छन्।
विश्वास जित्ने कला, ठगी गर्ने रणनीति
भुक्तभोगीहरूका अनुसार ती ज्योतिषीले आफूसँग सम्पर्कमा आउने अधिकांश व्यक्तिलाई ‘पितृदोष’ वा ‘ग्रहदशा खराब’ भएको बताउने गर्छन्। त्यसपछि पूजा गरेर दोष निवारण गरिदिने आश्वासन दिँदै २० हजारदेखि ३० हजार रुपैयाँसम्म असुल्ने गरेको आरोप छ। आर्थिक रूपमा सबल देखिएका व्यक्तिसँग भने ‘सुन दान गर्नुपर्ने’सम्म सुझाव दिने गरिएको बताइएको छ।
ती गुरुको विशेषता भनेको आफ्नो बोली र व्यवहारबाट मानिसलाई प्रभावमा पार्ने क्षमता हो। यही क्षमताको प्रयोग गर्दै उनी व्यक्तिको व्यक्तिगत समस्या पहिचान गरी त्यसैलाई केन्द्रमा राखेर पूजा आवश्यक भएको देखाउने गर्छन्।
एउटै सामग्री, धेरैको पूजा
उनी आफैं पूजा सामग्री बोकेर जाने गर्छन्, तर त्यही सामग्री प्रयोग गरेर धेरै व्यक्तिको पूजा गर्ने गरेको आरोप छ। यसले उनको क्रियाकलापप्रति थप शंका उत्पन्न गरेको छ।
देशभर ‘सेवा’, भक्तजनकै खर्चमा विलासिता
राजधानीबाहिर पनि भक्तजनको माग अनुसार उनी विभिन्न ठाउँमा पुग्ने गरेका छन्। तर, त्यस्तो अवस्थामा उनले तोकिएको शुल्कसँगै खानपान र बसोबासको सम्पूर्ण खर्च समेत सेवाग्राहीबाटै बेहोर्न लगाउने गरेका छन्।
संवेदनशील अवस्थासमेत बेवास्ता
अझ गम्भीर कुरा त के छ भने, केही महिला भुक्तभोगीका अनुसार महिनावारीको अवस्थामा समेत पूजा गर्न मिल्छ भन्दै उनले अनैतिक अभ्यासलाई निरन्तरता दिएका छन्।
अनलाइनमार्फत तत्कालै रकम असुली
सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका व्यक्तिसँग ‘ग्रहदशा हेर्ने’ नाममा सुरुमै एक हजार रुपैयाँ अनलाइनमार्फत लिने गरिएको छ। त्यसपछि ग्रह शान्तिका लागि विशेष पूजा गर्नुपर्ने भन्दै थप रकम असुल्ने गरिएको पीडितहरू बताउँछन्।
भ्रममा परेका सयौं पीडित, आवाज उठाउन डर
ग्रहदशा, पितृदोषजस्ता विषयमा विश्वास राख्ने सर्वसाधारणहरू मनोवैज्ञानिक रूपमा प्रभावित भई ठूलो रकम खर्च गरिरहेका छन्। तर, ठगी भएको महसुस हुँदाहुँदै पनि सामाजिक लाज र डरका कारण धेरै पीडित खुल्न सकिरहेका छैनन्।
यस्ता ‘गुरु’ देशभर सक्रिय
यो घटना एउटा प्रतिनिधि उदाहरण मात्र हो। यस्तै तरिकाले धार्मिक आस्था र अन्धविश्वासको दुरुपयोग गर्दै ठगी गर्नेहरू देशका विभिन्न स्थानमा सक्रिय रहेको देखिन्छ।
प्रश्न उठ्छ—कारबाही कहिले?
धार्मिक विश्वासको आडमा सर्वसाधारणमाथि भइरहेको यस्तो ठगीप्रति सम्बन्धित निकायको ध्यान कहिले जाने? पीडितले न्याय कहिले पाउने? यस्ता गतिविधिमाथि कडा कानुनी कारबाहीको आवश्यकता बढ्दो रूपमा महसुस गरिएको छ।

Facebook Comments Box
TOP
126 Shares