साम्बाको सफल शल्यक्रिया : पुनरागमनतर्फ आत्मविश्वासपूर्ण पाइला

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को न्युजिल्यान्डको अकल्यान्ड मा बुधबार सफलतापूर्वक घुँडाको शल्यक्रिया सम्पन्न भएको छ।
खाडी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण कतारस्थित Aspetar पुग्न नसकेपछि साम्बाले न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञ चिकित्सकमार्फत शल्यक्रिया गराएकी हुन्।
शल्यक्रियापछि उनी हाल चिकित्सकको निगरानीमा रहेकी छन् र स्वास्थ्य अवस्था सन्तोषजनक रहेको बताइएको छ। चिकित्सकको सल्लाहअनुसार उनी भोलिदेखि पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु गर्नेछिन्, जुन उनको मैदान फर्कने यात्राको महत्वपूर्ण चरण मानिएको छ।
साम्बाले स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य भएपछि रिह्याबलाई Aspetar मै निरन्तरता दिने योजना बनाएकी छिन्।
नेपाली फुटबलकी भरपर्दो स्ट्राइकर साम्बाको सफल शल्यक्रियाले उनका समर्थक र खेलप्रेमीहरूमा राहत र आशा थपेको छ। अब उनको लक्ष्य शीघ्र स्वस्थ भएर पुनः मैदानमा फर्कँदै राष्ट्रिय टोलीका लागि महत्वपूर्ण योगदान दिनु रहेको छ।

Facebook Comments Box
TOP
467 Shares