आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा मोरङमा लागूऔषधविरुद्ध ‘मेगा क्यान’ अभियान शुभारम्भ

विराटनगर । लागूऔषध दुव्र्यसन नियन्त्रण तथा लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय मोरङले ‘लागूऔषधविरुद्धको महाअभियान (Mega Campaign Against Narcotics–Mega CAN) २०८३’ को भव्य शुभारम्भ गरेको छ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको अभियानअन्तर्गत जेठ १० गते विराटनगरमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका थिए।

अभियानको पहिलो चरणमा विराटनगरस्थित महेन्द्र चोकबाट प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। प्रतिनिधिसभा सदस्य आशा झाले रिबन काटेर शुभारम्भ गरेको प्रभातफेरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, संघसंस्था, सञ्चारकर्मी, स्काउट, विद्यार्थी तथा युवावर्गको उल्लेखनीय सहभागिता रहेको थियो। लागूऔषधविरुद्धका सन्देश बोकेका प्लेकार्डसहितको प्रभातफेरी महेन्द्र चोकबाट सुरु भई जलजला चोक, गोल्छामोड हुँदै विराटनगर रंगशालामा पुगेर सम्पन्न भएको थियो।

अभियानको दोस्रो चरण विराटनगर महानगरपालिका–४ स्थित होटल मनास्लु इनमा आयोजना गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पानसमा दीप प्रज्वलन गरी अभियानको औपचारिक उद्घाटन गरेका थिए।

कार्यक्रममा लागूऔषध दुव्र्यसनको भयावह असर र त्यसबाट मुक्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले ‘अन्धकारबाट उज्यालतर्फ’ शीर्षकको नाटक, सचेतनामूलक सांगीतिक प्रस्तुति तथा पूर्व लागूऔषध प्रयोगकर्ता कपिलदेव आचार्यको जीवन अनुभव समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो।

वक्ताहरूले लागूऔषधको बढ्दो प्रयोग समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि राज्यका निकाय मात्र नभई परिवार, समुदाय, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा युवावर्गको सक्रिय सहकार्य आवश्यक रहेको बताएका थिए।

अभियानमार्फत लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्दै समाजका सबै क्षेत्रलाई एकजुट बनाई दुव्र्यसनमुक्त, सुरक्षित र सभ्य समाज निर्माण गर्ने लक्ष्य राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। अभियानका क्रममा आगामी दिनमा कोशी प्रदेशका विभिन्न जिल्लामा समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

Facebook Comments Box
TOP
178 Shares