

नेपाल–भारत मूल्य अन्तर बढेपछि सुन तस्करीको जोखिम बढ्दो
काठमाडौँ । नेपालको बाह्य क्षेत्र सन्तुलनतर्फ उन्मुख भएपछि नेपाल राष्ट्र बैंकले सुन आयातसम्बन्धी व्यवस्थामा केही सहजता ल्याए पनि वास्तविक आयात भने अपेक्षाअनुसार वृद्धि हुन सकेको छैन। वाणिज्य बैंकमार्फत दैनिक २५ किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था भए पनि वैधानिक च्यानलबाट हुने आपूर्ति सुस्त गतिमा रहेको देखिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्मको वैदेशिक व्यापार विवरणअनुसार १० महिनामा नेपालमा कुल १ हजार ४ सय ६६ किलो ८६ ग्राम सुन आयात भएको छ। फागुनसम्म १ हजार २ सय ५३ किलो रहेको आयात चैत र वैशाख महिनामा मात्र २ सय १३ किलोले वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यसअनुसार वैशाख महिनामा करिब १ सय ७ किलो हाराहारी सुन आयात भएको अनुमान छ।
नेपाल राष्ट्र बैंकको विद्यमान व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले दैनिक २५ किलोका दरले वार्षिक अधिकतम ९ हजार १ सय २५ किलोसम्म सुन आयात गर्न सक्ने क्षमता छ। तर हालको आयात परिमाण सो क्षमताको करिब १६ प्रतिशतमा मात्र सीमित रहेको देखिन्छ। मासिक कोटाको तुलनामा वैशाख महिनाको आयात पनि करिब १४ प्रतिशत हाराहारीमै सीमित भएको छ।
व्यवसायीहरूका अनुसार बजारमा माग रहे पनि बैंकमार्फत आयात गरिएको सुन अपेक्षाअनुसार बिक्री हुन नसक्दा बैंकहरू थप आयातमा सावधानी अपनाइरहेका छन्। ठूलो परिमाणमा सुन आयात गर्दा ब्याज लागत तथा मौज्दात जोखिम बढ्ने भएकाले वाणिज्य बैंकहरू सतर्क देखिएका छन्। यसले वैधानिक आपूर्तिभन्दा अनौपचारिक माध्यमबाट सुन आपूर्ति भइरहेको आशंकालाई पनि बल पुर्याएको छ।
यसैबीच छिमेकी भारतले सुन आयातमा कडा नीति अपनाएपछि नेपाल र भारतबीच सुनको मूल्य अन्तर उल्लेख्य रूपमा बढेको छ। भारतमा सुनमा लाग्ने प्रभावकारी आयात शुल्क कृषि उपकरसहित १५ प्रतिशतभन्दा माथि पुगेपछि त्यहाँ सुन महँगिएको हो। नेपालमा भने हाल सुन आयातमा १० प्रतिशत भन्सार शुल्क कायम छ।
दुवै देशबीचको कर संरचनाको अन्तरका कारण नेपाली बजारमा सुन भारतको तुलनामा प्रतितोला करिब १६ हजार रुपैयाँसम्म सस्तो पर्ने अवस्था बनेको व्यवसायीहरूको भनाइ छ। मुद्रा विनिमय र अन्य लागतसमेत जोडिँदा मूल्य अन्तर करिब २७ हजार रुपैयाँसम्म पुग्न सक्ने आकलन गरिएको छ।
अर्थविद्हरूका अनुसार यही मूल्य अन्तरले नेपाललाई सुन तस्करीका लागि आकर्षक मार्ग बन्ने जोखिम बढाएको छ। विगतमा उच्च भन्सारका कारण नेपाली उपभोक्ता भारततर्फ आकर्षित हुने प्रवृत्ति देखिए पनि अहिले परिस्थिति उल्टिएको उनीहरूको विश्लेषण छ।
विशेषगरी चीनबाट सुन ल्याई नेपाल हुँदै भारत पुर्याउने अवैध कारोबार बढ्ने सम्भावनाले नेपालको वित्तीय प्रणालीमा समेत असर पार्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्। त्यस्ता कारोबारमा अमेरिकी डलरमार्फत अनौपचारिक भुक्तानी हुने र भारतबाट भारतीय रुपैयाँ संकलन हुने भएकाले विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न सक्ने उनीहरूको धारणा छ।
सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको अवस्थामा विज्ञहरूले सुनसम्बन्धी भन्सार नीति पुनरावलोकन गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूका अनुसार भारतसँगको मूल्य अन्तर घटाउन नेपालले पनि भन्सार दर १३ देखि १५ प्रतिशतको हाराहारीमा समायोजन गर्ने विषयमा अध्ययन आवश्यक छ। अन्यथा खुला मूल्य अन्तरले तस्करीलाई थप प्रोत्साहन दिने जोखिम रहने उनीहरूको चेतावनी छ।
समाज
थप सामाग्री
बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता, खोजी जारी
१ दिन अगाडि
1.7kViews 125 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता भएका छन्।…



