

बागमती प्रदेश सभाको बजेट तथा वर्षे अधिवेशन आजदेखि
काठमाडौं । बागमती प्रदेश सभाको बजेट तथा वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट आह्वान गरिएको अधिवेशन आज दिउँसो १ बजे बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
अधिवेशनमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । यससँगै मन्त्रालय पुनर्संरचना, बजेट प्राथमिकता, चालु खर्च कटौती, विकास आयोजना तथा समसामयिक राजनीतिक विषयमा समेत व्यापक छलफल हुने अपेक्षा गरिएको छ ।
प्रदेश सरकारले मन्त्रालय संख्या १४ बाट घटाएर ८ मा झार्ने निर्णय गरिसकेको छ । सोहीअनुसार नयाँ संरचनाअनुसार कार्यविभाजन नियमावली संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ । अधिवेशनमा मन्त्रालय मर्ज, प्रशासनिक पुनर्संरचना तथा बजेट कार्यान्वयनको प्रभावकारितासम्बन्धी विषयहरू प्रमुख रूपमा उठ्ने देखिन्छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार आगामी बजेटलाई यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बनाउने तयारी भइरहेको छ । चालु खर्च घटाउँदै विकास निर्माण र प्रतिफल दिने आयोजनामा सरकार केन्द्रित हुने उनले बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि करिब ४९ देखि ५० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने प्रारम्भिक तयारी गरेको छ । भौतिक पूर्वाधार, खानेपानी, ऊर्जा, स्वास्थ्य, कृषि तथा रोजगारमुखी कार्यक्रमलाई प्राथमिकतामा राखिने संकेत सरकारका तर्फबाट दिइएको छ ।
सत्तापक्षले आर्थिक अनुशासन, प्रशासनिक सुधार र विकास केन्द्रित बजेट ल्याउने दाबी गरिरहेको छ भने प्रतिपक्षी दलहरूले खर्च क्षमता, अधुरा आयोजना तथा प्रदेश सरकारको कार्यसम्पादनलाई मुख्य मुद्दा बनाउने तयारी गरेका छन् ।
समाज
थप सामाग्री
बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता, खोजी जारी
१ दिन अगाडि
1.6kViews 125 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता भएका छन्।…



