

स्मार्ट सेल पाँच अर्ब घोटाला प्रकरण : अनुसन्धान अन्तिम चरणमा, मुख्य आरोपी अझै फरार
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले स्मार्ट सेलको करिब पाँच अर्ब रुपैयाँ हिनामिनासम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।
गत २४ वैशाखमा स्मार्ट टेलिकमका तत्कालीन सञ्चालक सर्वेश जोशीलाई पक्राउ गरेपछि सुरु भएको अनुसन्धान अन्तिम प्रतिवेदन तयार गर्ने चरणमा पुगेको सिआइबीले जनाएको छ। यही साता प्रतिवेदन बुझाउने तयारी भए पनि प्रकरणका मुख्य आरोपीहरू भने अझै पक्राउ परेका छैनन् ।
अनुसन्धानका क्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे पक्राउ परे पनि पछि हाजिरी जमानीमा रिहा गरिएका छन्। उनीसँग हाल बयान लिने क्रम जारी रहेको सिआइबी स्रोतले जनाएको छ। बैंकका अन्य कर्मचारीहरू भने अझै पक्राउ परेका छैनन् ।
स्मार्ट सेल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनसेलबीचको मिलेमतोमा सरकारको स्वामित्वमा आइसकेको कम्पनीको सम्पत्ति लिलाम गरी करिब चार अर्ब ६० करोड रुपैयाँ बराबरको हिनामिना गरिएको आरोप अनुसन्धानमा देखिएको छ।
बैंकले धितो बिना नै कमजोर आर्थिक अवस्थाको कम्पनीलाई कर्जा प्रवाह गरेको र त्यसपछि नक्कली लेखापरीक्षण प्रतिवेदनका आधारमा अर्बौं रुपैयाँ लगानी गरिएको दाबी अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन्। समयमै ऋण असुलीमा ध्यान नदिँदा सरकारी स्वामित्वमा पुगेको कम्पनीका बिटिएस टावरलगायत उपकरण एनसेललाई बिक्री गर्ने योजना बनेको पनि खुल्न आएको छ।
तर, नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी सम्पत्ति लिलामी प्रक्रियामा रोक लगाउँदै पत्राचार गरे पनि बैंकका सिइओ पाण्डे र एनसेलका तत्कालीन उच्च अधिकारी सतिशलाल आचार्यबीचको मिलेमतोमा प्रक्रिया अघि बढाइएको अनुसन्धान स्रोतको दाबी छ।
प्रारम्भिक अनुसन्धानमा उक्त लिलामी प्रक्रिया ‘सेटिङ’ भएको देखिएको र त्यसबापत करिब ५० करोड रुपैयाँ कमिसन दुबई पठाइएको आशंका पनि गरिएको छ। सो रकम हुण्डीमार्फत बाहिरिएको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग समन्वय गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।
यस प्रकरणमा एनसेलका उच्च व्यवस्थापन, सतिशलाल आचार्यका भाई सचिनलाल आचार्य, डिल्लीराम श्रेष्ठलगायतका व्यक्तिमाथि पनि बयान लिने तयारी भइरहेको सिआइबी स्रोतले जनाएको छ।
अनुसन्धानका क्रममा एनसेलसँग सम्बन्धित कागजातहरू समेत नियन्त्रणमा लिइएको भए पनि मुख्य आरोपीहरूको पासपोर्ट रोक्का नहुँदा उनीहरू विदेश गएको आशंका गरिएको छ।
इन्भेष्टमेन्ट मेगा बैंकका करिब एक दर्जन कर्मचारीको संलग्नता देखिए पनि उनीहरू हाल फरार वा सम्पर्कविहीन रहेको स्रोतको दाबी छ। सिआइबीले फरार आरोपितहरूलाई समेत मुद्दा चलाउने तयारी गरेको जनाएको छ।
प्रधानमन्त्री कार्यालयको चासोपछि सुरु भएको यो अनुसन्धान हाल अन्तिम निष्कर्षतर्फ अघि बढिरहेको भए पनि मुख्य आरोपीहरू पक्राउ नपर्दा अनुसन्धानको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।
समाज
थप सामाग्री
बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता, खोजी जारी
१ दिन अगाडि
1.6kViews 125 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता भएका छन्।…



