देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नाममा जारी पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। रिटमाथि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बहस हुने तय भएको छ।

यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित गराउन आदेश दिएको थियो।

देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ। तर देउवाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको दाबी गरेका छन्।

रिटमा काठमाडौँ जिल्ला अदालतसँग यस विषयमा क्षेत्राधिकार नै नरहेको अवस्थामा पक्राउ पुर्जी जारी गरिएको उल्लेख गरिएको छ। साथै, आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत पुष्टि गर्न सक्ने अवस्था रहेको र पक्राउ गर्नुपर्ने कुनै आवश्यक आधार नभएको जिकिर पनि गरिएको छ।

देउवा र उनकी पत्नी पछिल्लो समय हङकङ भ्रमणमा गएका थिए। उनीहरू हालसम्म नेपाल फर्किएका छैनन्। यसैबीच अनुसन्धान विभागले उनीविरुद्ध रेड कर्नर नोटिस जारी गराउन प्रक्रिया अघि बढाएको भए पनि इन्टरपोलले हालसम्म रेड कर्नर नोटिस जारी गरेको छैन।

सर्वोच्च अदालतको आजको सुनुवाइले देउवाविरुद्ध जारी पक्राउ पुर्जीको वैधानिकता, अदालतको क्षेत्राधिकार तथा अनुसन्धान प्रक्रियाबारे महत्वपूर्ण कानुनी नजिर स्थापित गर्न सक्ने भएकाले यस प्रकरणलाई चासोका साथ हेरिएको छ।

Facebook Comments Box
TOP
15 Shares