खुइल्याउने, खुस्काउने र खतम पार्ने होडबाजी

बसन्त कुँवर-

जब कुनै पनि मुलुकमा नेता, सासक, कर्मचारी, उद्योग, व्यवसायी लगायत सबै पक्षको समय उत्पादन दिने र उत्पादन दिने वातावरण बनाइदिने कुरामा खर्च हुन्छ, तब देश अगाडि बढ्छ र जनता सम्पन्न हुन्छन्। तर नेपालमा अहिले स्थिति यस्तो छैन। यहाँ अहिले सत्तामा रहेका स्वयं सासकहरूको नै पनि समय खर्च भैरहेको छ — “एकले अर्कालाई खुइल्याउने, खुस्काउने र खतम पार्ने“ कुरामा। यो स्थितिले त मुलुकलाई अझ धेरै नराम्रो भड्खालोमा हाल्ने छ।

तल्लो स्तरमा उद्योग व्यवसायीहरूले अरु भन्दा आफू धनी हुने कुरामा, कर्मचारीहरूले अरु भन्दा आफू माथि जाने कुरामा, किसानहरूले अरु भन्दा बढी फलाउने कुरामा, कलाकारहरूले अरु भन्दा असल कला दिने सम्बन्धमा, विद्यार्थीहरूले अरु भन्दा बढी नम्बर ल्याउने कुरामा, प्रहरी–सेनाहरूले अरु भन्दा बहादुरी देखाउने कुरामा हुने प्रतिस्पर्धाको भावना देश, जनता र समाजका लागि उत्पादक नै हुन्छ। तर यी सबै वर्गले यी कामहरू गर्न सबैभन्दा पहिले शासनमा रहेका दल र नेताहरूले उचित वातावरण बनाइदिनु पर्छ।

तर नेपालमा अहिले यस्तो वातावरण देखिएन। बरु सरकार र सदनमा रहेका दल र नेता ज्युहरू स्वयंले नै एक दलले अर्को दललाई, एक मन्त्रीले अर्को मन्त्रीलाई र एक सांसदले अर्को सांसदलाई खुइल्याउने, सके पद नै खुस्काउने, र भ्याएसम्म जेल–नेल हालि करिअर नै खतम पार्न सम्पूर्ण शक्ति, सामथ्र्य र समय लगाएको देखियो। जसको हातमा जनताले भोट हालि जिताएर देश र आफ्नो भविष्यको जिम्मा दिएर पठाएका छन्, तिनीहरू नै एकले अर्कोलाई खुइल्याउन र खतम पार्न व्यस्त हुने हुन् भने मुलुक बनाउने र बन्ने वातावरण दिनेचाहिँ को?

जसले बदमासीहरू गरेका छन् वा असल कामहरू गरेका छन्, तिनीहरूलाई कानुन र नियम निर्देशिका बमोजिम सम्बन्धित निकायले स्वाभाविक रूपमा दण्ड दिने र पुरस्कार दिने कामहरू भैरहन्छन्। तर एक प्रधानमन्त्री पदमा पुगेका बेलामा उनले अर्को प्रधानमन्त्री भएका व्यक्तिलाई वा कसैलाई सिध्याउन नै व्यस्त रहने, एक मन्त्री सत्तामा पुगेको बेला, उनले अर्को मन्त्री वा कसैलाई सिध्याउन नै व्यस्त हुने हो भने, यसको दुष्प्रभाव र नकारात्मक असर त्यस पदमा मात्र होइन, संवैधानिक निकायदेखि कानुन कार्यान्वयन इकाई र अदालतदेखि ब्युरोक्रेसी र उद्योग–व्यवसायसम्ममा नै पर्नेछ।

यो प्रक्रिया एक कालमा सकिने छैन, बरु पाकिस्तान, बंगलादेश र अरु धेरै देशमा झैँ निरन्तर चलिरहने छ। स्थिति यस्तो आउने छ — शासन बदलियो कि पहिलेका सासक र सहयोगी खुइलिने, खुस्किने र खतम हुने स्थितिमा पुगिहाल्नेछन्। देशको स्थायित्वका लागि यस्तो खुइल्याउने र खुस्काउने काम खतरनाक हुन्छ।
यो प्रक्रियाले देशमा कुनै पनि संस्था मर्यादित र उत्पादक हुनै सक्दैन। यसको दुष्प्रभाव राजनीतिक दलहरूबीच मात्र होइन, तल्लो स्तरका कार्यकर्तासम्म पनि पर्नेछ र देश तथा समाजमा सकारात्मक र उत्पादक काम गर्ने वातावरण नै हुने छैन।
इतिहास खोज्दै गएर शासनमा रहेर आफ्ना मेसिनरीको दुरुपयोग गर्दै कुनै न कुनै तवरले कसैलाई फसाउने खेल गर्ने नै हो भने, राजा देखि रंक, जोगीदेखि भोगी, राष्ट्रपतिको पददेखि प्रधानमन्त्री, मन्त्रीदेखि संवैधानिक निकायका प्रमुख, सेना प्रमुखदेखि प्रहरी प्रमुखका पदधारकहरू मात्र होइन, जो कोहीलाई पनि कुनै केस लगाएर वा केस सिर्जना गरी खुइल्याउन, खतम गर्न र फसाउन सकिन्छ। तर त्यसो गर्दा मुलुक अस्थिर मात्र होइन, बर्बाद र गृहयुद्धतिर जानेछ, र देशको आर्थिक स्थिति धराशायी भई मुलुक अर्को देशको कठपुतली बन्नेछ।

कृपया सबै सासक ज्युहरूले सबै कालमा यो काम गर्न बन्द गरौं। जुन कामका लागि जनताले चुनेर वा कर तिरेर तलब, भत्ता, सुविधा र अधिकार दिई पठाएका छन्, त्यसै काममा नैतिक भएर सेवा गरौं। मुलुकको आर्थिक स्तर र जनताको प्रतिव्यक्ति आय अकल्पनीय रूपमा माथि उठाऔं। मुलुक साह्रै गरीब र अस्तव्यस्त भइसकेको छ — यसलाई सही गर्न सबै मिलेर काम गरौं।

Facebook Comments Box
TOP
189 Shares