

जनलहर, असन्तुष्टि र रास्वपाको ऐतिहासिक अवसर
तीन–साढे तीन वर्षअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छोटो समयमै नेपाली राजनीतिमा असाधारण उछाल ल्याएको छ। सांगठानिक संरचना पूर्णरूपमा विकास गर्न नपाउँदै प्रतिनिधिसभामा झण्डै दुई तिहाइ हाराहारीको जनमत प्राप्त गर्नु सामान्य राजनीतिक घटना होइन। यसले दशकौँदेखि आफूलाई स्थापित र शक्तिशाली ठान्दै आएका पुराना दलहरूलाई गम्भीर आत्मसमिक्षा गर्न बाध्य बनाएको छ।
यो परिणामलाई धेरै अर्थमा राजनीतिक चमत्कार भन्न सकिन्छ। किनकि नयाँ पार्टीले यति छिटो जनसमर्थन पाउनु दुर्लभ कुरा हो। तर यो सफलता केवल रास्वपाको लोकप्रियताको परिणाम मात्र होइन, बरु लामो समयदेखि सत्ता र राजनीतिमा रहेका दलहरूप्रति जनतामा बढ्दै गएको असन्तुष्टिको प्रतिफल पनि हो।
विगतका वर्षहरूमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेशवादी दलहरू जनअपेक्षा अनुसार काम गर्न असफल भएको आरोपबाट मुक्त हुन सकेनन्। जनमतको सम्मान र जनताप्रतिको जवाफदेहिता कमजोर बन्दै जाँदा मतदातामा वैकल्पिक शक्तिको खोजी तीव्र हुँदै गयो। यही परिस्थितिले रास्वपालाई असाधारण अवसर प्रदान गर्यो।
यस अर्थमा रास्वपाको उदयलाई ‘जनलहर’ भन्दा पनि पुराना दलप्रतिको असन्तुष्टिको अभिव्यक्ति भन्नु बढी यथार्थपरक देखिन्छ। यदि मतपत्रमा ‘नो भोट’ को व्यवस्था भएको भए, अहिले रास्वपाले पाएको मतमध्ये ठूलो हिस्सा त्यतातिर जाने सम्भावना पनि अस्वीकार गर्न सकिँदैन। त्यसैले यो जनमतलाई स्थायी समर्थनका रूपमा होइन, परिवर्तनको अपेक्षासहितको चेतावनीका रूपमा बुझ्नुपर्ने हुन्छ।
यसबीच प्रधानमन्त्रीका रूपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम चर्चामा आउनुले पनि राजनीतिक बहसलाई थप तातो बनायो। तर स्थानीय तहमा देखिएको नेतृत्व र कार्यक्षमताको बहसले नै देखाउँछ—जनताको अपेक्षा अत्यन्त ठूलो छ र त्यसलाई पूरा गर्न सक्नु नै नयाँ शक्तिको वास्तविक परीक्षा हुनेछ।
रास्वपाको अर्को चुनौती भनेको पार्टीभित्रको संरचना र राजनीतिक संस्कार निर्माण हो। अहिले संसद प्रवेश गर्न तयार भएका धेरै अनुहारहरू विगतमा विभिन्न पुराना दलसँग जोडिएका व्यक्तिहरू नै हुन्। व्यक्तिगत स्वार्थ वा अवसरका कारण दल परिवर्तन गर्ने प्रवृत्ति नेपाली राजनीतिमा नयाँ होइन। यही प्रवृत्ति दोहोरिएमा रास्वपा पनि भविष्यमा गुट–उपगुट र विभाजनको राजनीतिबाट मुक्त रहने ग्यारेन्टी छैन।
त्यसैले अहिले प्राप्त जनमतलाई विजयको उन्मादका रूपमा होइन, ठूलो जिम्मेवारीका रूपमा लिनु रास्वपाका लागि आवश्यक छ। दुई तिहाइ जनसमर्थनको नजिक पुगेको दलका रूपमा उसले राजनीतिक स्थिरता, सुशासन र जनअपेक्षा पूरा गर्ने स्पष्ट योजना प्रस्तुत गर्न सकेन भने यही जनमत चाँडै निराशामा बदलिन पनि सक्छ।
यथार्थ के हो भने, मतदाताले यसपटक पुराना दललाई कडा सन्देश दिएका छन्। त्यो सन्देश हो—जनमतको कदर नगर्ने राजनीतिलाई नेपाली जनता लामो समय सहेर बस्दैनन्।
अब रास्वपाको अगाडि ऐतिहासिक अवसर छ—नेपाली राजनीतिमा नयाँ संस्कार, नयाँ कार्यशैली र जवाफदेही शासनको उदाहरण प्रस्तुत गर्ने। यदि यो अवसर सदुपयोग भयो भने देशले वास्तवमै नयाँ राजनीतिक युगको सुरुवात देख्न सक्छ। तर यदि पुरानै प्रवृत्ति दोहोरियो भने, जनताले विकल्प खोज्न धेरै समय नलगाउने पनि उत्तिकै निश्चित देखिन्छ ।
समाज
थप सामाग्री-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
२० घण्टा अगाडि
1.8kViews 250 Shares Share on Facebook Share on Twitter काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ।…



