सभापति लामिछानेको निर्देशन अक्षरशः पालना गर्न सांसद पाण्डेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद राजु पाण्डेले सभापति रवि लामिछाने को निर्देशन सबैले अक्षरशः पालना गर्नुपर्ने बताएका छन्।
सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पाण्डेले सभापति लामिछानेको अभिमुखीकरण सम्बोधन अत्यन्त सकारात्मक, स्पष्ट र मार्गदर्शक रहेको उल्लेख गर्दै आफू निकै उत्साहित भएको बताए। उनले पार्टीभित्र अनुशासन कायम राख्दै आधिकारिक धारणा बाहिर नजाने गरी सबै सांसद एकजुट हुनुपर्नेमा जोड दिए।
‘सभापतिज्यूले एकदम सही कुरा गर्नुभएको छ। हामी सबै खुसी छौँ। उहाँले भनेजस्तै जनताको इच्छा–आकांक्षाको भार बोकेर मात्रै बोल्नुपर्छ,’ पाण्डेले भने, ‘सामाजिक सञ्जालमा पार्टीको नीति र नेतृत्वविरुद्ध व्यक्तिगत अभिव्यक्ति दिनु हुँदैन।’
पाण्डेले पार्टी प्रणालीलाई सुदृढ बनाउन व्यक्तिगत आकांक्षा सार्वजनिक नगर्न पनि आग्रह गरे। मन्त्री बन्ने विषयमा सार्वजनिक रूपमा लबिङ गर्नु अनुचित हुने भन्दै उनले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए।
‘पार्टीले जे जिम्मेवारी दिन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ। “म आकांक्षी हुँ, मेरो अनुभव छ” भन्ने कुरा गर्नु हुँदैन, यो सबै ननसेन्स हो,’ उनले भने, ‘मन्त्रीको विषयमा निर्णय पार्टीले गर्छ।’
पाण्डेको भनाइले रास्वपाभित्र अनुशासन, एकता र नेतृत्वप्रतिको प्रतिबद्धता बलियो बनाउने संकेत गरेको छ।

Facebook Comments Box
TOP
328 Shares