बिहे गरेर अमेरिका लैजाने प्रलोभन देखाउँदै १५ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं । विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा काठमाडौंमा दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार आफू अमेरिकामा रहेको भन्दै टिकटकमार्फत सम्पर्कमा आएका व्यक्तिले विवाह गरेर अमेरिका लैजाने आश्वासन दिई एक महिलाबाट १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको हो।

प्रहरीका अनुसार आरोपीले आफूलाई ‘प्रिन्स तामाङ’ बताउँदै अनुहार नदेखाई कुराकानी गरेका थिए। उनले आफ्नी बहिनी भन्दै सरगम तामाङ नामबाट ह्वाट्सएपमार्फत सम्पर्क गराई रकम माग गरेको अनुसन्धानबाट खुलेको छ।

प्राविधिक अनुसन्धानका क्रममा प्रिन्स तामाङ भन्ने सञ्जीव नेपाली र उनकी श्रीमती अनुष्का भन्ने सरिता पराजुली ठगीमा संलग्न रहेको खुलेको साइबर ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार स्याङ्जा घर भई काठमाडौंको माछापोखरी बस्दै आएका नेपाली र पराजुलीलाई पक्राउ गरी विद्युतीय माध्यमबाट भएको ठगीसम्बन्धी अपराधमा अनुसन्धान भइरहेको छ।

प्रहरीले सामाजिक सञ्जालमार्फत हुने यस्ता प्रलोभनमा नपर्न र रकम पठाउनुअघि व्यक्तिको पहिचान तथा विवरण पुष्टि गर्न आग्रह गरेको छ।

Facebook Comments Box
TOP
263 Shares