मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाललाई प्रदेश प्रहरी प्रशासनमा सुधार, सुशासन र संगठनात्मक शुद्धीकरणको अभियानका रूपमा हेरिएको छ। आफ्नो कार्यकाल सम्पन्न गर्दै उनले समयको लम्बाइभन्दा पनि आफूले प्रहरी संगठन र सुरक्षा व्यवस्थापनमा कस्तो योगदान पुर्‍याउन सकियो भन्ने कुरालाई प्राथमिकता दिएको बताएका छन्।

मधेश प्रदेशमा वर्षौंदेखि जरा गाडेर बसेको भनिएको घुमुवा प्रहरी प्रणाली, बिचौलिया प्रभाव तथा प्रहरी संगठनभित्र देखिएका विकृतिविरुद्ध उनले सञ्चालन गरेको अभियानलाई धेरैले साहसिक र ऐतिहासिक कदमका रूपमा मूल्याङ्कन गरेका छन्।

यसै सन्दर्भमा डिआईजी थपलियासँग जनरक्षा प्रतिनिधिले गरिएको संक्षिप्त कुराकानी :

आठ महिने कार्यकाल पूरा गर्दा आफ्नो कामलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

– म कति समय मधेश प्रदेश प्रहरी प्रमुखको रूपमा कार्यरत रहेँ भन्नेभन्दा पनि त्यो अवधिमा नागरिकको अपेक्षा अनुसार प्रहरी सेवा प्रवाहमा सुधार, सुरक्षा व्यवस्थापन सुदृढीकरण, सुशासन कायम गर्ने र संगठनलाई थप जिम्मेवार बनाउने सन्दर्भमा के कति योगदान गर्न सकियो भन्ने कुरालाई महत्व दिन्छु। सुधारको यात्रा कहिल्यै समाप्त हुँदैन, तर हामीले एउटा महत्वपूर्ण सुरुवात गरेका छौँ।

 तपाईंको कार्यकालमा सबैभन्दा ठूलो उपलब्धि के रह्यो ?

 मधेश प्रदेश प्रहरीमा वर्षौंदेखि जकडिएर बसेको घुमुवा प्रहरीको समस्या समाधानतर्फ ठोस पहल गर्नु महत्वपूर्ण उपलब्धि हो। लामो समयदेखि एउटै क्षेत्रमा बसेर विवादित बनेका तथा बिचौलिया र तस्करहरूसँग साँठगाँठ रहेको आशंका गरिएका प्रहरी कर्मचारीहरूको छानबिन गरी आवश्यक कारबाही गरिएको थियो। संगठनलाई स्वच्छ र उत्तरदायी बनाउन यो अभियान आवश्यक थियो।

 घुमुवा प्रहरीविरुद्धको अभियान सञ्चालन गर्दा कस्तो चुनौती सामना गर्नुपर्‍यो ?

 कुनै पनि सुधार अभियान सहज हुँदैन। वर्षौंदेखि स्थापित गलत अभ्यास हटाउन खोज्दा स्वार्थ समूहहरू असन्तुष्ट हुनु स्वाभाविक हो। सुधारका क्रममा जवानदेखि प्रहरी उपरीक्षकसम्म करिब २५० जना प्रहरी कर्मचारीलाई जिम्मेवारी परिवर्तन, सरुवा तथा अन्य प्रशासनिक कारबाही गरिएको छ। यसले केही समूहलाई असहज बनाएको थियो।

 तपाईंमाथि पनि बेला–बेलामा विभिन्न आरोप लागे, त्यसलाई कसरी लिनुभयो ?

 मधेशमा घुमुवा प्रहरीको समस्या एउटा कचमचिएको पिलो जस्तै थियो। त्यस्तो घाउ निचोर्दा केही छिटा उछिट्टिनु स्वाभाविक हो। सुधार अभियानबाट प्रभावित भएका केही व्यक्तिहरूले विभिन्न माध्यमबाट भ्रम फैलाउने प्रयास गरे। तर सत्य तथ्य, प्रमाण र कार्यसम्पादन नै अन्ततः निर्णायक हुने कुरा हो। असत्य धेरै समय टिक्दैन र सत्य कहिल्यै झुक्दैन भन्ने मेरो विश्वास हो।

 मधेश प्रदेश प्रहरीमा अझै के सुधार आवश्यक छ ?

 – हामीले सुरुवात गरेका छौँ, तर अझै धेरै काम बाँकी छन्। प्रहरी संगठनलाई अझ पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन निरन्तर प्रयास आवश्यक छ। सुशासन, अनुशासन र व्यावसायिकता कायम राख्ने अभियान निरन्तर अगाडि बढ्नुपर्छ।

सुधार, सुशासन र साहसिक नेतृत्वको छाप

डिआईजी गोबिन्द थपलियाले मधेश प्रदेशको सुरक्षा चुनौती, सीमावर्ती अपराध, तस्करी नियन्त्रण तथा प्रहरी संगठनभित्रको अनुशासन कायम गर्न खेलेको भूमिकाले उनलाई एक दृढ, निडर र सुधारमुखी प्रहरी अधिकृतको रूपमा स्थापित गरेको प्रहरी वृत्तमा चर्चा छ।

उनको कार्यकालमा सञ्चालन गरिएको संगठन शुद्धीकरण अभियानले प्रहरी संगठनभित्र सकारात्मक सन्देश प्रवाह गरेको र वर्षौंदेखि जरा गाडेर बसेका विकृतिमाथि प्रहार भएको धेरैको बुझाइ छ।

आठ महिनाको कार्यकाल सम्पन्न भए पनि डिआईजी थपलियाले अघि सारेको सुधारको एजेन्डा मधेश प्रदेश प्रहरी प्रशासनमा लामो समयसम्म स्मरणीय रहने विश्वास गरिएको छ।

Facebook Comments Box
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
१ घण्टा अगाडि

1.1kViews 192 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको…

TOP
192 Shares