

बालेन सरकार र रास्वपा सांसदको देश बनाउने नारा, तर देखिँदैछ देश सकाउने पारा !
नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे–लिष्टमा परेको १५ महिना बितिसकेको छ । २०८१ फागुन ९ गते परेकोमा अहिलेबाट ग्रे–लिष्टबाट निकाल्न सकिएको छैन । यो सूचीबाट निक्लिनका लागि नेपालसँग अब ६ महिना मात्र बाँकी छ । आउँदो माघ मसान्तभित्र ग्रे–लिष्टबाट ननिकालेमा नेपाल स्वतः ब्ल्याकलिष्टमा जान्छ ।
अर्थात कालोसूचीमा पर्छ । देश ग्रे–लिष्टमा पर्ने बेलामा केपी शर्मा ओली प्रधानमन्त्री थिए । उनी हटेर सुशीला कार्की प्रधानमन्त्री बनिन् । हाल बालेन्द्र साह देशको प्रधानमन्त्री छन् । तीन जना प्रधानमन्त्री फेरिसक्दा पनि कसैले देशलाई ग्रे–लिष्टबाट बाहिर ल्याउन सकेको छैन ।
भ्रष्टाचार बढिरहेकै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सबै अदालतबाट सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा भएको छ । राजश्व उठेको छैन, खर्च कटौती पनि गर्न सकिएको छैन । अनि देश कसरी कालोसूचीमा पर्नबाट जोगिएला ? सरकारले खर्च घटाएन तर कर्मचारीहरुको तलब बढायो ।
महँगी भत्ता यथावत् राख्यो । सरकारी खर्च घटाउनुपर्नेमा बालेन सरकार झन बढाउनमा लागेको छ । पहिलेकै खर्च धान्न धौं धौं परिरहेको अवस्थामा बढेको खर्च कसरी पूर्ति गर्ने ? अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गत जेठ १५ गते सदनमा प्रस्तुत गरेको बजेटमा १४ खर्ब पाँच अर्ब ३१ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य छ ।
सबैभन्दा बढी राजश्वको स्रोत भनेको घरजग्गा, गाडी र सेयर हो । तर, यी क्षेत्र यतिबेला संकटमा छ । २१ खर्ब २४ अर्ब ३४ करोडको कूल बजेट ल्याइएकोमा राजश्व बाहेकको स्रोतचाँहि ऋण हो । आन्तरिक र वैदेशिक स्तरबाट ऋण लिएर खर्च धान्ने सरकारको दाउ छ । त्यसो त नयाँ र पुरानोमा के फरक भयो ?
ऋण लिएर त पहिले पनि देश चलिरहेकै थियो । देशको कायापलट गर्न आएको बालेन सरकारले एउटा देशबाट ऋण लिँदै अर्को देशको ऋण चुक्ता गरिरहेको छ । ७५ वर्षअघि २००८ सालमा मुलुकमा पहिलोपटक बजेट ल्याइयो । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको सरकारको अर्थमन्त्री स्वर्ण शमशेरले त्यतिबेला जम्मा दुई करोडको बजेट ल्याएका थिए ।
त्यतिबेला नेपाल सरकारलाई एक रुपैयाँ पनि वैदेशिक ऋण थिएन । जे थियो, आफ्नै थियो । नेपाली जनता रोजगारीका लागि विदेश जाने क्रम शुरु भइसकेको थिएन । अहिले त वैदेशिक ऋण ३२ खर्बको हाराहारीमा पुग्न लागिसकेको छ । बालेन सरकारले नै तीन खर्ब रुपैयाँ विदेशी ऋण लिइसक्यो ।
एअरपोर्टबाट दैनिक झण्डै तीन हजार नागरिक रोजगारीका लागि बाहिरिन्छन् । अब भनौं देश सुध्रिएछ कि बिग्रिएछ ? सरकारले निर्माण व्यवसायीको ४५ अर्ब, स्वास्थ्य बीमाको ४३ अर्ब, कोरोनाको २४ अर्ब र दूध तथा उखु किसानको सात अर्ब भुक्तानी दिन बाँकी छ । उनीहरु रुँदै हिँडेका छन् ।
बालेन सरकारले पनि तिनको भुक्तानी दिने देखिएको छ । भदौ २३ र २४ गतेको घटनामा सरकारी सम्पत्तिका अर्बौंको क्षति पुगेको छ । त्यही हिंसात्मक र ध्वशांत्मक आन्दोलनको बलमा यो सरकार बनेको छ । तर, सरकारले ती संरचना पुनःनिर्माणका लागि बजेट छुट्याएको छैन ।
बालेन सरकारले दीर्घकालीन रोग लागेका बिरामी, ज्येष्ठ नागरिक, एकल महिना, अपाङ्गता, शहिद परिवारलाई नजरअन्दाज गरेको छ । उनीहरुले पनि भत्तामा एक रुपैयाँ पनि बढाइएन । सरकारले चासो दिएको भनेको कर्मचारी र जनप्रतिनिधि मात्र हो । सरकारी कर्मचारीको तलब बढ्नेबित्तिकै जनप्रतिनिधिको तलब स्वतः बढिहाल्यो ।
प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बढेअनुसार तलब पाउने भइहाले । योभन्दा सरकारलाई के चाहियो ? यसले नै देखाउँछ कि यो सरकार जनताप्रति कति उत्तरदायी छ ? यो सरकार जनताका लागि बनेको हो कि आफ्नो र कर्मचारीको सेवासुविधा बढाउन ? यहीबाट पुष्टि हुन्छ ।
अर्थमन्त्री वाग्लेले आफू पढेको विद्यालयमा १५ करोड रुपैयाँ बजेट दिए । आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी बजेट हाले । उनी र पुरानामा केही फरक रहेछ त ? उनले जनताले तिरेको करको चरम दुरुपयोग गरेका छन् । जनता झोलुङ्गे पुल नभएर ज्यानको बाजी राखेर अहिलेपनि तुइनबाट यात्रा गरिरहेका छन् ।
सरकार भने विद्यार्थीसँग मासिक लाखौं फिस असुल्ने स्कुललाई बजेट दिन्छ । यो सरकारले के गर्यो ? बजेटबाट के परिवर्तन आयो ? करार र ज्यालादारीको कर्मचारी हटाइएन । नजिक–नजिक एक प्रकृतिको सरकारी कार्यालय गाँभ्ने निर्णय पनि भएन । एक जनाले गर्ने कामका लागि दुई दर्जन कर्मचारी भर्ती गरिएको छ ।
तिनलाई हटाउनुपर्छ कि पर्दैन ? जनप्रतिनिधिको सेवासुविधा घटाउनुको साटो तलब बढाइयो । पुराना दलले केही गरेनन् भनेर जनताले रास्वपालाई झण्डै दुई तिहाई जिताए । प्रश्न उठ्छ–जनताले रवि जोगाउनलाई त्यो मत दिएका थिए ? वालुवाटारमा करोडौंको खाट, एसी, फ्रिज किन्नलाई बालेनलाई प्रधानमन्त्री बनाइएको हो ?
रास्वपाका एक जना सांसद वा मन्त्रीले तलबभत्ता नलिने भनेका छैनन् । पूँजीपति मन्त्री र सांसदहरु समेत तलबभत्ता लिन्न भन्न सक्दैनन् अनि अरुलाई नैतिकताको पाठ पढाउँछन् । बरु यसअघि काँग्रेसका सांसद डा सुनिल शर्माले तलबभत्ता लिन्न र सरकारी गाडी चढ्दिन भनेका त थिए ।
हिजो पदमा नहुँदा गृहमन्त्री सुधन गुरुङ्गले कसैले सरकारी गाडी नपाउने भन्थें । अहिले सभामुख डोलप्रसाद अर्याल सरकारी गाडीको लावालस्कर लगाएर हिँड्छन् । यसबारे अहिले कोही चुइक्क बोल्दैनन् । रास्वपा सांसद त बालेन सरकारको अगाडि ‘जिउँदो लास’ जस्तै बनेका छन् ।
सरकारले जे गरेपनि चुप । प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्दा ताली पिट्छन् । अर्थमन्त्रीले आफू पढेको स्कुलमा बजेट खन्याउँदा पनि बोल्दैनन् । मन्त्रीले खुट्टा भाँच्ने भन्दा कम्मर भाँच्ने भनेको भन्दै पर्दा हाल्न खोज्छन् । जनताको पीडा रास्वपाका कुनै सांसदले सदनमा उठाउँदैनन् ।
आफ्नो सरकारको अगाडि उनीहरु लम्पसार छन् । बालेन, रवि र स्वर्णिमले उनीहरुलाई सांसद बनाएका होइनन्, जनताले बनाइदिएका हुन् । अनि जनताको कुरा उठाउने बेला किन चुप ? आफ्नो पार्टीले जे गर्दापनि ठीक ? रास्वपाका सांसदहरुले विभिन्न आश्वासन देखाएर जनतासँग भोट लिए ।
अब अहिले बजेट नै छैन । अनि जनतालाई दिएको आश्वासन कसरी पुरा हुन्छ ? भोलि यिनले जनतालाई कसरी अनुहार देखाउँछन् । भन्नलाई सजिलो छ तर गर्न गाह्रो छ । बाहिर हुँदा औंला उठाउन सजिलो छ । तर, पदमा पुगेपछि काम गर्न गाह्रो । अहिले रास्वपालाई भएको यहीँ हो ।
अरुको खोइरो खनेर आएकाहरुको काम गर्ने बेलामा दाँतबाट पसिना चुहिरहेको छ । न बोल्न सकेका छन् न काम गर्न । जुम्लाबाट जितेर आएका तत्कालीन सांसद गजेन्द्र महतले आफ्नो क्षेत्रमा बजेट नदिएको भन्दै आफ्नै सरकारको सदनबाट विरोध गरेका थिए । तर, यो आँट रास्वपा सांसदमा देखिएन ।
आफ्नो क्षेत्रमा बजेट नदिँदा पनि उनीहरु मौन छन् । यिनलाई जनताभन्दा पनि पार्टी प्यारो रहेछ । जनताले यसको परिणाम देखाउनेछन् । प्रधानमन्त्री बालेन सदनमा एम्बेसेडरको भूमिका निर्वाह गरिरहेका छन्, तैपनि रास्वपा सांसद बोल्दै बौल्दैन । यिनीहरु सांसद होइनन् । सांसद यस्ता हुँदैनन् ।
सांसद त गलतको विरुद्धमा आवाज उठाउँछन् । जनताको समस्या बोल्छन् । देश र जनताको समस्या नदेखेको व्यक्तिहरु सदनमा पुगे । यिनले देश बनाउँछन् तर लथालिङ्ग । सहीलाई सही र गलतलाई गलत भन्न नसक्नेले के देश बनाउँछन् ? उद्योग खोल्न भनेर आएकाहरु इलाममा त्यत्रो चिया उद्योग बन्द हुँदा मौन छन् । यिनीहरुले कसरी झुक्याएका रहेछन् ? जनताले विस्तारै बुझ्दैछन् ।
अनुसा थापा
भक्तपुर
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



