रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार भोटो देखाउने परम्परासहित औपचारिक रूपमा सम्पन्न हुने भएको छ । राष्ट्र प्रमुखको उपस्थितिमा जावलाखेलस्थित ललित मण्डपमा भोटो प्रदर्शन गरिने तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार भोटो देखाउने कार्यक्रम प्रत्येक वर्षझैँ यस वर्ष पनि जावलाखेलमै आयोजना गरिनेछ । उनका अनुसार सर्वसाधारण तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा भोटो प्रदर्शन गरिने सम्पूर्ण तयारी पूरा हुने चरणमा छ ।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो । जावलाखेल पुर्‍याइएको चौथो दिनमा परम्परागत रूपमा भोटो देखाउने प्रचलन रहिआएको वडाध्यक्ष खड्काले बताए ।

संस्कृतिविद्हरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो । राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छन् ।

भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा रहेको छ ।

वडाध्यक्ष खड्काले यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै भोटो जात्रामा सहभागी हुने भक्तजन तथा दर्शकलाई आवश्यक सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन् । साथै जावलाखेल क्षेत्रमा फुटपाथमा व्यापार नगर्न पनि उनले सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।

Facebook Comments Box
TOP
138 Shares