रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी

चितवन । पार्टी स्थापनाको चार वर्षमै उल्लेखनीय जनसमर्थन हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए ।

स्थापनाको छोटो अवधिमै राजनीतिक उचाइ हासिल गरेको रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा १८ सिट जित्दै प्रमुख दलहरूलाई चुनौती दिएको थियो । हाल पार्टीले देशको वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको दाबी गर्दै आएको छ ।

महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे चितवनको गेष्टहाउस चौरमा हुने भएको छ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको भए पनि पूर्वप्रधानमन्त्रीमध्ये डा. बाबुराम भट्टराई मात्र सहभागी हुने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र अन्य प्रमुख दलका शीर्ष नेताहरू उपस्थित नहुने भएका छन् ।

देशभरिबाट करिब चार हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा १९ सदस्यीय पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । संशोधित विधानअनुसार सभापतिले ५१ सदस्य मनोनीत गर्ने र बाँकी १०० सदस्य निर्वाचन प्रक्रियाबाट चयन हुने व्यवस्था गरिएको छ ।

सभापति पदका लागि ५१ हजार रुपैयाँ शुल्क र ५१ जनाको समर्थन आवश्यक हुने प्रावधान राखिएको छ । अन्य पदाधिकारीका लागि ४१ हजार रुपैयाँ र समान संख्याको समर्थन हस्ताक्षर आवश्यक हुनेछ भने केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ र २१ जनाको समर्थन अनिवार्य गरिएको छ ।

पार्टीले सुरुमा सानो संरचनाबाट यात्रा सुरु गरे पनि अहिले ठूलो संगठनात्मक संरचना निर्माण गरेको छ । पार्टी सभापति रवि लामिछानेले गठनकालमा भोग्नुपरेका कठिनाइ स्मरण गर्दै पार्टी निर्माणको यात्रा संघर्षपूर्ण रहेको बताएका छन् ।

विगतका वर्षमा विभिन्न कानुनी मुद्दा तथा राजनीतिक विवादमा मुछिएका लामिछाने अहिले पनि सहकारी ठगीलगायत मुद्दामा कानुनी प्रक्रियामा रहेका छन् । यद्यपि उनी पार्टी नेतृत्वमा सक्रिय रहेका छन् ।

रास्वपाले छोटो अवधिमै राजनीतिक रूपमा उल्लेखनीय सफलता हासिल गर्दै पुराना दलहरूलाई चुनौती दिएको दाबी गर्दै आएको छ । पार्टी नेताहरूका अनुसार महाधिवेशनले संगठनात्मक संरचना, नीति तथा नेतृत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयन भएसँगै रास्वपाले आगामी राजनीतिक यात्रालाई अझ सशक्त बनाउने दाबी गरेको छ ।

 

Facebook Comments Box
TOP
452 Shares