

महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छ: मन्त्री चौधरी
काठमाडौँ, २८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलासँग सम्बन्धी अपूर्ण कानूनहरूलाई संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
महिला सुरक्षा दबाब समूहले आज काठमाडौँमा आयोजना गरेको “लैङ्गिक हिंसा न्यूनीकरणका लागि बनेका कानूनहरूमा भएका कमी कमजोरीहरू र समाधानबारे सरोकारवालाहरूसँग राष्ट्रिय संवाद” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।‘महिलासँग सम्बन्धित कानूनहरू अपूर्ण नै छन् । नागरिक ऐनमा पनि समस्या छ । त्यसैले कानूनमा भएका कमीकमजोरीलाई सच्याउँदै अगाडि बढ्न जरुरी छ’, मन्त्री चौधरीले भन्नुभयो ।
महिलाका समस्या समाधानका लागि एकीकृत कानून बनाउन आवश्यक रहेको भन्दै मन्त्री चौधरीले महिला मन्त्रालय पनि एकीकृत रूपमा साझा ऐन बनाउने तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै विभागहरूको एकीकृत गरेर ल्याउँछौँ । त्यसमा पनि महिला हिंसासँग सम्बन्धित कानूनहरूमा के-के बुँदाहरू थप गर्ने यहाँहरू जस्तो कानूनविद्व र अधिकारकर्मीहरूको राय, सल्लाह र सुझावमा हामीले कानून ल्याउनेछौ । ’
विशेषगरी आमाको नामबाट नागरिकता प्राप्त गर्ने कुरामा धेरै समस्या भएको भन्दै उहाँले यसलाई राज्यले पनि सहजीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
सम्बन्ध विच्छेदको मुद्दामा पनि सम्पत्ति लिइसकेपछि फेरि फिर्ता गर्नुपर्ने विषय पनि संशोधन गर्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो ।
श्रम ऐन पनि संशोधन गर्नुपर्ने भन्दै मन्त्री चौधरीले खासगरी गैरकानूनी ढंगबाट खाडी मुलुकमा गएका महिलाहरू पीडित हुने गरेको भन्दै यसलाई श्रम ऐनमार्फत सम्बोधन गर्नुपर्ने बताउनुभयो । ‘यसो किन गर्नुपर्छ भने अहिले ट्रान्जिट भिसामा विशेषगरी खाडी मुलुकमा जाने हाम्रा दिदीबहिनीहरू फर्कँदाखेरि धेरै समस्या देखिने गरेको छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘यौनहिंसामा पर्ने, गर्भवती भएर आउने, विभिन्न प्रकारका घरेलु हिंसामा पर्ने गरेको पाइएको छ । यस्तो समस्या देख्दा हामी भावुक पनि हुन्छौ तर यही समस्याका कारण महिलालाई विदेश जान भने बन्देज गर्नुहुँदैन । बरु त्यसलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुरा श्रम ऐनमा समावेश गरेर जानुपर्छ ।’
युवा पुरुष मात्रै बाहिर जान सक्ने अवस्था आयो भने झन् समस्या उत्पन्न हुने भन्दै उहाँले वर्किङ भिसाबाट मात्रै जान पाउने खालको व्यवस्था कसरी गर्न सकिन्छ ? कुन तरिकाबाट जाँदा उत्तम त्यसतर्फ सोच्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै संवेदनशील केशहरू छन् । धेरै कोसिस गर्दा पनि त्यसरी गैरकानूनी रूपमा पठाउने, लैजाने व्यक्तिहरू सबै पहिचान हुँदापनि ती व्यक्तिहरू पक्राउ गर्न सकिरहेको अवस्था छैन ।’
महिलाहरू आफ्नो पारिवारिक बाध्यताका कारण रोजीरोटीका लागि विदेश जाँदा समस्यामा पर्ने गरेको उहाँको भनाई थियो ।
‘महिलाहरू रोजीरोटीका लागि भारत, श्रीलङ्का हुँदै दुवै कतार जाने गरेको पाइन्छ । उताबाट फर्केर आउँदा यी समस्याहरू निम्तिने गरेको छ ।
त्यसमा पनि घरेलु हिंसा, यौन हिंसा गर्ने अनेक रूपमा प्रताडित गराउने गरिएको छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘तर यसका लागि ठोस कानून नहुँदा ती पीडितहरूको समस्या समाधान हुन सकिरहेको छैन । श्रम ऐनमा पनि छैन अन्य ऐनमा पनि छैन ।’
बालविवाहको विषयमा अहिले पनि गाउँमा प्रत्येक महिना ५/६ वटा बालविवाहको केशहरू आइरहने अवस्था रहेको भन्दै उहाँले सानै उमेरमा प्रेम, विवाह हुने त्यसपछि विभिन्न कुरा नमिल्दा बालकहरू बालविवाहमा पनि पर्ने गरेको बताउनुभयो ।
बाल सुधार गृहमा रहेका बालकहरूमध्ये अधिकांश त्यस प्रकारको केशका कारण सजाय काट्दै आएको उहाँले बताउनुभयो ।
महिलासँग सम्बन्धित ऐन, कानूनमा भएका कमीकमजोरीलाई सच्याउने क्रममा मन्त्रालयले संशोधनको तयारी गरेको भन्दै मन्त्री चौधरीले त्यसका लागि सुझाव दिन समेत आग्रह गर्नुभयो । ‘मन्त्रालयलाई पनि सुझाव दिन आग्रह गर्दै मन्त्री चौधरीले यस्ता विषयहरूमा विधेयक टेबुल हुँदा संशोधन प्रस्तावहरू आउन सकेमा अझ राम्रो हुन्छ’, उहाँले भन्नुभयो, ‘महिला हिंसा विरुद्धको नियमावली र चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण विरुद्धको नियमावली संशोधनका लागि अगाडि बढाएका छौँ ।’
उहाँले ज्येष्ठ नागरिकको नियमावली पनि आउने तयारीमा रहेको उहाँले बताउनुभयो ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१५ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



