स्वदेश फर्कन लाज किन त?

सर्यवदना घिमिरे पण्डित
अहिले विश्व नै एक गाउँजस्तो भएको छ। एक देशका नागरिक अर्को देशमा जाते–आते गर्न सामान्य भएको छ। अन्तर्देशीय आवागमन हेर्दा विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा जाने प्रचलन निरन्तर बढ्दै गएको देखिन्छ। चाहे उच्चशिक्षा अध्ययन गर्न होस्, वैदेशिक रोजगारीका लागि होस्, घुमफिरका लागि वा उपचारका लागि किन नहोस्, विदेशको जाते–आतेको क्रम बढिरहेको छ।
खासगरी यहाँ उठाउन खोजिएको सन्दर्भ नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको हो। आफ्ना नागरिकलाई कहाँ पठाउन उपयुक्त हुन्छ भनेर र कहाँबाट कामदार ल्याउन सजिलो वा सस्तो पर्छ भन्ने हेरेर दुई देशबीच श्रम सम्झौता भएको हुन्छ। हाल नेपालले १२ देशसँग श्रम सम्झौता गरेको छ। यस्तै १७ वटा मुलुकसँग समझदारी पत्रमा हस्ताक्षर भएको देखिन्छ। नेपालबाट धेरथोर व्यक्तिहरू बितेको ३०–४० वर्षदेखि यता संस्थागत वा व्यक्तिगत तवरले वैदेशिक रोजगारीमा जाने गरेका पाइन्छ।
नेपालको हालको सन्दर्भमा हेर्दा विशेष सीप भएका व्यक्तिहरू भन्दा सामान्य काम गर्नेलाई दक्षिण एसिया, खाडी र मध्यपूर्वका देशमा रोजगारीको अवसर बढी देखिएको छ। अर्थोपार्जनका लागि वैदेशिक रोजगारीमा जान आ–आफ्ना आवश्यकता वा बाध्यता हुन सक्छन्। ती देशमा गएर काम गर्न असजिलो–अप्ठ्यारो वा सहज जे छ, त्यो आफ्नै ठाउँमा होला। तर पनि स्वदेश आते–जाते गर्न र कमाएको रकम घर पठाउन भने केही हदसम्म हाल सहज देखिएको छ। वैदेशिक रोजगारीका माध्यमले देशले विप्रेषण पनि प्राप्त गरिरहेको छ।
तर विकसित कहलिएका मुलुक अमेरिका, अष्ट्रेलिया, जापान आदि देशमा जान सीप भएका वा नभएका जो–कोहीले पनि मरिहत्ते गर्ने गरेको खबर हरदिन सामाजिक सञ्जालमा पढ्न पाइन्छ। त्यस्ता देशमा पुगेपछि आफ्नो देशमा फर्कने भन्दा उतै रहन चाहने प्रचलनले गर्दा नेपालमा दक्ष, अदक्ष सबै प्रकारका व्यक्तिहरूको खडेरी भैसकेको भनिन्छ। गएका अधिकांश व्यक्तिहरू सम्बन्धित देशमै बस्न रुचाउने भएकोले ती देशबाट विप्रेषण पनि नगण्य मात्रामा देश भित्रिने तथ्य वार्षिक विप्रेषण आयबाट देख्न सकिन्छ।
यतिबेला खास गरेर अमेरिकी सरकारले विभिन्न तरिकाले अवैध रूपमा बसेका आप्रवासीहरूलाई आफ्नो देशबाट हटाउने नीति लिएको सुनिन्छ। यस्तो व्यवस्था पहिलाको सरकारको पनि नभएको भने होइन रहेछ। व्यापक प्रचार–प्रसार नगरी देशको नियम पालना हुने गरेकोमा अहिले प्रचारबाजी बढी भएको भन्ने बुझिन्छ। तर पनि माओवादी वा भूकम्पका कारण अमेरिकामा अस्थायी बसोबास गरिरहेका नेपालीलाई अब आफ्नो देशको अवस्था सामान्य भएकोले आफ्नै देश फर्केर जाऊ भन्दा यस्तो हावाकावा किन भएको होला त?
नेपालले पनि एक वर्षमा १२० दिन बढी बसेका विदेशीलाई खोजीखोजी उसकै देशमा पठाउँछ। फर्काउने तालमेल नमिल्दै विशेष निगरानीमा, अर्थात् जेलमा नै राख्छ। यो सार्वभौम राष्ट्रको सामान्य अधिकारको कुरा हो।
आजकल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरूको भीड लाग्छ। अमेरिकाबाट फर्केका नेपालीलाई अर्कै लोकबाट आएका नयाँ जीव भेटेजसरी नानाभाँतीका प्रश्न तेर्सिने गर्दछन्। आफ्नै देश आउनेहरूले पनि लाज मानेर मुख छोप्ने, परिवार लिन नजाने, गए पनि खुससी नभएको देख्दा हामी सर्वसाधारणको मन कटक्क दुख्छ। शरीर देश फर्कनु भनेको राष्ट्र र परिवारलाई गौरवको कुरा होइन र? बाहिर गएको आफ्नो छोरो, नातेदार, छिमेकी आफ्नै घर आयो। नेपाल र बाबुआमा, इष्टमित्रसँग नाता नै कटाएर वा राजीनामा दिएर अन्यत्र गएको त हैन नि। उन्नत अध्ययन वा रोजगारीका विभिन्न कारणले केही धन कमाउने उद्देश्यकासाथ उसले देश छोडेको हुन्छ। त्यसमा आफैंले भनेजस्तो हुन नसकेको मात्र हो। खासगरी लाज त अर्काको देशमा बस्न पाइएन भनेर चित्त दुखाउँदा लाज लाग्नु पर्ने हो। आफ्नो देश फर्कँदा के को लाज?
केही वर्ष अगाडि हामीले नेपालमा भूटानी शरणार्थी देख्यौँ। नेपालले राख्न नसकेर अरू देशलाई गुहार्नु पर्यो। यस्तो अवस्थामा तेस्रो देश जानुपर्ने बाध्यात्मक अवस्था पर्न गयो भूटानी नागरिकका लागि। अमेरिका लगायत अन्य देशमा व्यवस्थापन गरियो। यसरी जानुपर्ने यो बाध्यतालाई अवसरजस्तो देख्ने भ्रम जस्तो पनि भयो यहाँ बसेका नेपालीलाई। केही समय अगाडि नेपालका नागरिक नै भूटानी शरणार्थी बन्ने प्रयास गरेको लज्जास्पद समाचार पनि आएको थियो। यस्तो भनिने हो भने, गोडा नभएकालाई कसैले सहयोग दिएको देखेर आफ्नो सग्लो गोडा आफैँले काटेजस्तो भएन र त?
संसारमा आफ्नो देशै नभएका मानिसहरू पनि हुन्छन्। ती कहाँ जालान्? आफ्नो पनि अरूको जस्तै गरी देश भए कस्तो हुन्थ्यो होला भन्छन् उनीहरू। हामी सार्वभौम नेपालीहरू अर्काको देशमा बस्न नपाएको कुरालाई आकाश खसेजस्तो नगरौँ। त्यसैले अमेरिकाबाट वा अरू देशबाट नेपाल फर्कँदा शिर निहुराएर हैन, “यो मेरो देश हो, म आफ्नो देशको सम्मानित नागरिक हुँ” भनेर स्वाभिमानी बनौँ र देखाऊँ पनि।
नेपालले आफ्ना नागरिकलाई देशमा नआऊँ कहिल्यै भनेको छैन र भन्दैन पनि। जति अपराध गरे पनि नेपालको संविधानमा देश निकाला विरुद्धको मौलिक हक छ नेपाली नागरिकका लागि।
हरेक व्यक्ति स्वयंमा जाँगरिलो, उत्साही र इमान्दार हुने हो भने नेपाल जस्तो प्राकृतिक सम्पदाले सम्पन्न देशका मान्छे हामी अन्त जानुपर्ने अवस्था नआउनु पर्ने हो। यस सन्दर्भमा सरकार र हामी नागरिक दुवै पक्ष चुकेका छौँ। पहिलेको जस्तो हामी आफैं इमान्दार र मेहनती बनौँ। आफूले आफैँलाई सम्मान गरौँ। अर्काको देशमा बस्न नपाउँदा उनीहरूलाई दोष दिने निर्लज्जता प्रकट नगरौँ। आफू र आफ्नो देशप्रति सम्मान र गौरव गरौँ। हामी सबैको जय होस्।
प्रशिक्षक, जीवन विज्ञान प्रतिष्ठान

Facebook Comments Box
TOP
278 Shares