ट्राफिकको उद्देश्य सवारी व्यवस्थापन गर्ने हो, दण्ड गर्ने होइन – बसन्त कुँवर

आज शनिबार बुबालाई लिएर मन्दिरतिर पुगेर घर फर्कंदै थिएँ, बसुन्धरा चौकी नजिक केही ट्राफिक प्रहरी थिए, जस मध्ये एकले जोड–जोडले सिटी फुकें। नजिकै अर्की महिला प्रहरीले गाडी रोकिन्। बीचमै गाडी रोक्दा पछाडिकोले ठक्कर दिन सक्थे, त्यसैले बिस्तारै अगाडि बढेर गाडी बायाँ किनारमा लगाएँ।
त्यही बेला सिटी बजाउने ट्राफिक हान्ने राँगो झैँ भएर मेरो झ्यालमा आए र महिला प्रहरीलाई भने, “सिट बेल्ट लगाएको छैन।” तर मैले सिट बेल्ट लगाएकै थिएँ। उनले राम्ररी देखेनन्।
जब मलाई सिट बेल्ट लगाएकै अवस्थामा देखे, तब लाइसेन्स र ब्लुबुक मागे। मैले देखाएँ। तर मलाई ट्राफिक प्रहरीको जरिवानामा यत्रो रहर र रुचि अनि ट्राफिक व्यवस्थापनमा एकदमै कम रुचि पहिल्यैदेखि चित्त नबुझेको कुरा आज थप चुलियो।
नेपालमा दुर्घटना र ट्राफिक जामको ग्राफ कहालीलाग्दो छ, र त्यो सवारी चालकले ब्लुबुक र लाइसेन्स नबोकेर वा नवीकरण नगरेको कारणले नभई ट्राफिक प्रहरीले सवारी सञ्चालन व्यवस्थापन गर्न नजानेर हो। यसमा चालकभन्दा ट्राफिक प्रहरीहरूको कमजोरी छ। सवारी व्यवस्थापन सञ्चालनभन्दा जरिवाना तिर ध्यान दिएकै कारण यो अवस्था आएको हो। सवारी चालकहरूलाई ट्राफिक प्रहरीले दिनुपर्ने प्रॉपर अनुशिक्षण नदिएकै हो।
संसारमा कतै नभएको जात्रा हाँडीगाउँमा भनेझैँ, अहिले संसारमै नेपाल मात्र त्यस्तो देश हो जहाँ हरेक दिन, हरेक स्थानमा सवारीहरूलाई दुःख दिने, हैरानी दिने खालका चेकिङ हुन्छन्। यो अमानवीय, अवैज्ञानिक र अन्यायपूर्ण छ।
ट्राफिकले मूल हेर्नुपर्ने सवारी व्यवस्थापन हो। बायाँबाट ओभरटेक गर्न नदेऊ, लेन अनुशासन उल्लंघन हुन नदेऊ, सानो गल्लीबाट ठूलो गल्लीमा आउँदा रोकी हेरी अघि बढ, चार लेनमा हिँड्दा बिस्तारै गुड्ने बायाँ बस, छिटो जानेलाई दायाँ लेन छोडिदेऊ, पब्लिक बसहरू बाटोको बीचमा नरोक, सानो बाटोबाट ठूलो बाटोमा आउँदा रोकेर अर्कोको लागि पास देऊ, उकालो चढ्दै गरेकोलाई ओरालो आउनेले रोकेर साइड देऊ, चौबाटो र एकतर्फी स्थानहरूमा जबर्जस्ती नछिर… यस्ता साधारण कुराहरू सिकाउन र यी कुरा नभए ती चालकहरूलाई सचेत गराउन र जरिवाना गर्न हुन्छ।
तर ट्राफिक प्रहरीजस्तो नभई पार्किङका ठेक्का लिएका ठेकेदारले बढीभन्दा बढी रकम उठाउन हरेक दिन जागर देखाएझैँ, हरेक दिन, उही सवारी चालकहरूलाई बारम्बार दुःख दिनु अमानवीय मात्र होइन, असोभनीय पनि हो।
मेरो विचारमा ट्राफिकको कागजात चेकिङ सवारी यातायात विभागले ट्राफिक प्रहरीको जिम्मामा नदिई अर्कै युनिटलाई दिनु पर्छ। र ट्राफिकलाई नितान्त रूपमा केवल सवारी सञ्चालन व्यवस्थापनमै मात्र लगाउनु उचित हुन्छ। अहिले ट्राफिक प्रहरीको चेकिङले जनताको आवागमन गर्ने रहर र रुचिलाई नै खल्लो र झोक चल्दो बनाएको छ। ट्राफिक चेकिङ र दण्ड हुन्छन्, तर यदाकदा। तर पैसै उठाउन चिट काट्ने नै उद्देश्यले र हरेक दिन ट्राफिक चेकिङ कतै न कतै हुँदैछ। यसमा सुधार जरुरी छ। जनता लाई चाहिनेभन्दा बढी दुःख दिने काम नगरौं।
दुःख गरेर खाने चालकहरूलाई काम गर्नै नसक्ने गरी विदेश पलायन हुन तपाईं ट्राफिक प्रहरीले पनि सहयोग गर्ने काम नगरौं। तपाईंहरू दण्ड–जरिवाना कै लागि खडा भएकाजस्तै लाग्दैन। यही काम गर्नै ट्राफिक हो भने यस युनिटलाई राजस्व विभाग अन्तर्गत राखे के होला?
आदरणीय माननीय गृहमन्त्रीज्यू र महानिरीक्षकज्यू समक्ष ट्राफिक कार्यको विश्लेषण हुन अनुरोध। चेकिङ बढेसँगै दुर्घटना किन बढ्यो? कतै आगमन व्यवस्थापनमा ध्यान नभई मुद्रा संकलन तिर ध्यान भएर त होइन?

– पूर्व एसएसपी

Facebook Comments Box
TOP
421 Shares