रास्वपाले जितलाई घमण्ड होइन, देश रूपान्तरणको जिम्मेवारी मानेको छ : शिशिर खनाल

काठमाडौं । शिशिर खनालले  चुनावमा प्राप्त मतलाई आफ्नो व्यक्तिगत विजय नभई देश रूपान्तरणको ठूलो जिम्मेवारीका रूपमा लिएको बताएका छन्। रास्वपाका तर्फबाट निर्वाचित सांसद खनालले मतदातासँगको संवादमा आफूहरू कामको परिणामप्रति अत्यन्त सजग रहेको स्पष्ट पारे।
तार्केस्वर नगरपालिकाका मतदातासँग भएको भेटघाट कार्यक्रममा उनले रास्वपा असफल भए स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा ठूलो निराशा फैलिन सक्ने बताए। त्यसैले देशलाई सुशासन र समृद्धिको बाटोमा लैजान पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ थियो।
खनालले आगामी एक हप्ताभित्र रास्वपाले सरकारमा कस्तो भूमिका खेल्ने र कस्तो संरचनामा अघि बढ्ने भन्ने विषय टुंगो लाग्ने जानकारी दिए। उनले अन्य दलहरूले जस्तै बाजागाजासहित विजय र्‍याली नगर्ने निर्णय पनि सुनाए।
‘पछिल्लो समय ज्यान गुमाएका ७६ जनाको शोकलाई सम्मान गर्दै हामीले विजय र्‍याली नगर्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘हामीले यसलाई विजयभन्दा पनि जिम्मेवारी र अवसरका रूपमा लिएका छौँ। काम गर्ने यो अवसरलाई एक दिन पनि खेर फाल्ने छैनौँ।’
खनालले आगामी पाँच वर्षसम्म जनतासँग निरन्तर संवाद र सम्पर्कमा रहने वाचा पनि गरे। टोल–टोलमा भेला गरेर नागरिकका गुनासा सुन्ने र ती समस्यालाई संसद्मा उठाएर समाधानका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए।
जनताले दिएको विश्वासले आफूहरूलाई ठूलो जिम्मेवारीको अनुभूति गराएको बताउँदै खनालले रास्वपामा ‘अब हामी मात्रै’ भन्ने घमण्ड नरहेको स्पष्ट पारे। सबै दल र नागरिकको सम्मान गर्दै देश रूपान्तरणको काम तत्काल सुरु गरिने उनले बताए।

Facebook Comments Box
TOP
444 Shares