जनयुद्धदेखि संसदसम्म : ‘शरद’को संघर्ष, साहस र विकासको यात्रा

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेता युवराज दुलाल ‘शरद’को राजनीतिक यात्रा संघर्ष, साहस र निरन्तर समर्पणको कथाले भरिएको छ। जनयुद्धका कठिन मोर्चादेखि राज्यसत्ताको नेतृत्व तहसम्म आइपुगेका शरद अहिले सिन्धुपाल्चोकमा विकासमुखी नेताका रूपमा परिचित छन्।
२०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालीन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७) मा पिता गुरुप्रसाद दुलाल र माता झम्कमाया दुलालको कोखबाट जन्मिएका शरद सामान्य किसान परिवारका जेठा सन्तान हुन्। गाउँकै सिद्धिगणेश उमाविबाट २०५५ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनले उच्च शिक्षाका लागि पाटन संयुक्त क्याम्पसमा भर्ना भए।
तर २०५६ सालदेखि माओवादी जनयुद्धमा पूर्णकालीन रूपमा होमिएपछि उनको अध्ययन केही समय रोकिन पुग्यो। शान्ति प्रक्रियापछि उनले पुनः अध्ययनलाई निरन्तरता दिँदै आरआर क्याम्पसबाट स्नातक पूरा गरे र २०७३ सालमा पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर (एम.ए.) गरेका हुन्।
राजनीतिसँगै साहसिक यात्राप्रति पनि रुचि राख्ने शरदले २०६९ सालमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणसमेत गरेका छन्।
जनयुद्धको मोर्चाबाट उदाएको नेता
माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गर्दा शरद अझै किशोरावस्थामै थिए। तर सानै उमेरदेखि राजनीतिक चेतनासहित सक्रिय रहेका उनी २०५५ सालमा अखिल क्रान्तिकारी सिन्धुपाल्चोक क्षेत्रीय अध्यक्ष बने। एक वर्षपछि जिल्ला उपाध्यक्षको जिम्मेवारी पाएपछि राज्यको निगरानी बढेपछि २०५६ सालदेखि उनी भूमिगत जीवनमा प्रवेश गरे।
त्यसपछि उनी माओवादीको सैन्य संरचनामा स्क्वायड कमाण्डरदेखि ब्रिगेड कमाण्डरसम्म पुगे। सोलुखुम्बुको सल्लेरी, संखुवासभाको चैनपुर, ओखलढुंगाको रुम्झटार, काभ्रेको पनौती, तनहुँको बन्दीपुर, सिराहाको लाहान, काठमाडौंको थानकोट, दोलखाको चरिकोट लगायतका थुप्रै युद्धमोर्चामा उनले नेतृत्व गर्दै लडाइँ लडे।
पनौती आक्रमणका क्रममा ढाडबाट छिरेको गोली पेटबाट निस्किएको घटनाले उनी बालबाल बचेका थिए। विभिन्न युद्धमोर्चामा गोली र बमका छर्राले घाइते भए पनि उनी बारम्बार मृत्युको मुखबाट फर्किएका थिए। उनका शरीरमा अहिले पनि गोली र बमका छर्रा रहेका बताइन्छ।उनको नेतृत्वमा जनमुक्ति सेनाको वासुस्मृति ब्रिगेड अन्तर्गत ११औँ बटालियनको स्पेशल ट्र्याक्स फोर्सले थानकोट प्रहरी चौकीमा आक्रमण गरी २४ थान हतियार कब्जा गरेको थियो।
प्रचण्डको सुरक्षा कमाण्डदेखि राजनीतिक नेतृत्वसम्म
शरदले २०६३ देखि २०६८ सालसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केन्द्रीय नेताहरूको सुरक्षा टिमको मुख्य कमाण्डरको जिम्मेवारी पनि सम्हालेका थिए।
पछिल्ला वर्षहरूमा उनी वाइसीएल नेपालको केन्द्रीय सदस्य, ताम्सालिङ राज्य इन्चार्ज, केन्द्रीय उपाध्यक्ष तथा माओवादी केन्द्रको केन्द्रीय सदस्यका रूपमा सक्रिय रहे।
त्याग र धैर्यको उदाहरण
राजनीतिक यात्रामा शरदलाई धैर्य र त्यागका लागि पनि चिनिन्छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदका लागि टिकट पाएपछि पनि उनले पार्टी एकता कायम राख्न भन्दै उक्त टिकट अर्का नेता अमानसिंह तामाङलाई सुम्पेका थिए।
त्यसपछि उनी ‘त्यागी नेता’ का रूपमा चर्चा भएका थिए। टिकट त्यागेपछि पनि उनले पार्टीका उम्मेदवारहरूको पक्षमा सक्रिय रूपमा चुनावी अभियान चलाएका थिए।
विकासमुखी छवि
शरद बागमती प्रदेशसभामा दुई पटक निर्वाचित भइसकेका नेता हुन्। उनले बागमती प्रदेश सरकारमा सामाजिक विकास मन्त्री (२०७४ फागुन–२०७७ पुस) तथा भौतिक पूर्वाधार विकास मन्त्री (२०७९ माघ–२०८१ साउन) को जिम्मेवारी सम्हालेका थिए।
मन्त्री रहँदा जिल्लामा सडक, पूर्वाधार र विकास योजनामा सक्रिय भूमिका खेलेपछि स्थानीयवासीले उनलाई ‘विकासको बाक्सा’ उपनाम दिएका छन्।
प्रतिनिधिसभामा विजय
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारका रूपमा सिन्धुपाल्चोक–२ बाट शरद निर्वाचित भएका हुन्।
निर्वाचन परिणामअनुसार उनले २१ हजार ६९९ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी बंशलाल तामाङले १९ हजार १४६ मत प्राप्त गरे।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू विजयी भइरहेका बेला सिन्धुपाल्चोक–२ मा भने शरदले बाजी मार्दै आफ्नो प्रभाव कायम राखे।
विजयपछि उनले भने, “मलाई जनताले विश्वास गरेर यहाँसम्म पुर्‍याएका छन्। जनताको हितका लागि काम गर्नेछु, जनताको हितविपरीत एक इन्च पनि दायाँबायाँ हुने छैन।”
यसपटकको चुनावमा उनले “बाकस भरी भोट, गाउँ भरी विकास” भन्ने नारासहित घरदैलो अभियान चलाएका थिए।
जनयुद्धका कठोर मोर्चादेखि लोकतान्त्रिक राजनीतिक यात्रासम्म आइपुगेका शरदलाई अहिले सिन्धुपाल्चोकमा संघर्षशील, धैर्यवान् र विकासमुखी नेताका रूपमा चिन्ने गरिन्छ ।

Facebook Comments Box
TOP
168 Shares