सांसदलाई मन्त्री नबनाउने तयारीमा रास्वपा, बालेन पनि सकारात्मक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचित सांसदलाई मन्त्री नबनाउने व्यवस्था लागू गर्ने विषयमा आन्तरिक तयारी थालेको छ। वर्तमान प्रणालीअनुसार सांसद मात्रै मन्त्री बन्न पाउने व्यवस्थाले जसरी पनि सांसद बन्ने प्रतिस्पर्धा बढाएको, चुनावमा अत्यधिक खर्च हुने र त्यसपछि उक्त खर्च उठाउन भ्रष्टाचार गर्ने प्रवृत्ति बढेको निष्कर्ष निकाल्दै रास्वपाले यस्तो व्यवस्था परिवर्तन गर्नुपर्ने धारणा अघि सारेको हो।
पार्टीका नेताहरूका अनुसार सांसद र मन्त्री पदलाई अलग–अलग बनाउँदा नीति निर्माण र कार्यान्वयन दुवै क्षेत्रमा पारदर्शिता र उत्तरदायित्व बढ्ने विश्वास गरिएको छ। सांसदलाई मन्त्री नबनाउने व्यवस्था लागू गरिए चुनावी प्रतिस्पर्धा स्वस्थ बन्ने, चुनावी खर्च घट्ने र नीतिगत भ्रष्टाचारमा पनि कमी आउने अपेक्षा गरिएको छ।
यसैबीच, हालै गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले पनि आफ्नो प्रतिवेदनमा सांसदलाई मन्त्री नबनाउने व्यवस्था लागू गर्न सुझाव दिएको छ। आयोगको निष्कर्षअनुसार यस्तो प्रणाली लागू भए चुनावी खर्च नियन्त्रणमा आउने, नीतिगत भ्रष्टाचार कम हुने र समग्र निर्वाचन प्रणाली सुधारतर्फ उन्मुख हुने देखिएको छ।
यता भावी प्रधानमन्त्रीका रूपमा चर्चा भइरहेका बालेन शाह पनि उक्त अवधारणाप्रति सकारात्मक देखिएका छन्। स्रोतका अनुसार उनले शासन प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन यस्तो मोडेलबारे गम्भीरतापूर्वक सोच भइरहेको संकेत दिएका छन्।
यद्यपि, यो विषयमा पार्टीभित्र छलफल भइरहे पनि अन्तिम निर्णय भने भइसकेको छैन। रास्वपाले विभिन्न पक्षसँग परामर्श गरेर मात्रै औपचारिक निर्णय गर्ने तयारी गरेको जनाएको छ।

Facebook Comments Box
TOP
377 Shares