चक्रे मिलन समूहसँग जोडिएका युवा संघ नेता निराजन पौडेल पक्राउ, ज्यान मार्ने उद्योगसहितका मुद्दामा अनुसन्धान अघि बढ्दै

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघसँग आवद्ध निराजन पौडेल (निरे) लाई ज्यान मार्ने उद्योग तथा हातहतियार सम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विभिन्न व्यक्तिबाट प्राप्त मौखिक तथा लिखित उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पौडेलविरुद्ध ज्यानमार्ने उद्योग, हातहतियार तथा अभद्र व्यवहारसम्बन्धी विभिन्न घटनामा संलग्न भएको आरोपमा अनुसन्धान भइरहेको छ ।

प्रहरीले उनलाई बिहीबार काठमाडौँको बालुवाटार क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रारम्भिक सोधपुछका क्रममा उनले आफू ठेक्कापट्टाको काममा संलग्न रहेको बताएका छन् ।

प्रहरीका अनुसार उनी विवादास्पद पृष्ठभूमि रहेको चक्रे मिलन समूहसँग आवद्ध रहेको र सार्वजनिक शान्ति–सुरक्षामा असर पार्ने गतिविधिमा संलग्न भएको देखिएको छ ।

हाल उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरिएको छ भने अन्य आरोपसम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
297 Shares