घरमै बसेर एनओसी: विदेश पढ्न जाने विद्यार्थीका लागि ठूलो सहजता

काठमाडौं । वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूका लागि अब ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउँदै ‘फेसलेस’ सेवा सुरु गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन्। आवश्यक प्रक्रिया पूरा भएपछि प्रमाणपत्र आफैं प्रिन्ट गरेर प्रयोग गर्न मिल्नेछ, जसले समय र खर्च दुवै बचत गर्नेछ।

यस सुधारका लागि एनओसी अनलाइन पोर्टललाई (त्रिवि) र (केयू)सँग एपीआईमार्फत जोडिएको छ। वैशाख ४ गते त्रिविसँग औपचारिक सम्झौता भएको हो भने केयूसँग यसअघि नै सहकार्य सुरु भइसकेको थियो। अब विद्यार्थीको रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा शैक्षिक प्रमाणपत्र स्वतः प्रमाणीकरण हुने भएकाले कार्यालय पुग्नुपर्ने आवश्यकता हटेको छ।

यसअघि नागरिकताको विवरण (सीआइएमएस) र शैक्षिक विवरण राष्ट्रिय परीक्षा बोर्डसँग जोडिएको प्रणालीबाट प्रमाणीकरण हुँदै आएको थियो। साथै शुल्क भुक्तानी पनि अब (रिमास)मार्फत पूर्ण रूपमा अनलाइन गर्न सकिने व्यवस्था गरिएको छ।

एनओसी शाखाका अनुसार नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीलाई लाइन बस्ने, कागज बोकेर धाउने वा बिचौलियाको भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ। डिजिटल सेवातर्फको यो कदमले पारदर्शिता, सहजता र विश्वसनीयता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

विद्यार्थीका लागि यो सुविधा केवल प्रक्रियागत सुधार मात्र नभई, विदेश अध्ययनको यात्रालाई सरल, छिटो र आधुनिक बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Facebook Comments Box
TOP
266 Shares