

सुकुम्बासी हटाउने कार्यप्रति नेकपाको आपत्ति, तत्काल रोक्न माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारलाई कुनै विकल्पबिना उठिबास गराउने गरी टहरा भत्काइएको भन्दै कडा आपत्ति जनाएको छ।
आइतबार जारी गरिएको विज्ञप्तिमा पार्टीले सरकारको उक्त कदमलाई ‘अमानवीय’ भएको उल्लेख गर्दै तुरुन्तै यस्तो कार्य रोक्न माग गरेको छ। “लोकतन्त्रको सुदृढीकरण जनताको अधिकार खोसेर वा उनीहरूको घरबास उजाडेर सम्भव हुँदैन,” विज्ञप्तिमा भनिएको छ, “समुचित पुनर्बासको व्यवस्था नगरी सुकुम्बासीमाथि गरिएको कारबाही तत्काल रोकियोस्।”
पार्टीले सुकुम्बासी व्यवस्थापनका नाममा भएका गतिविधिले प्रभावित परिवारलाई थप संकटमा पारेको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढाएको चेतावनी दिएको छ। साथै सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदुर तथा उत्पीडित समुदायप्रति संवेदनशील हुनुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति पनि गम्भीर आपत्ति जनाइएको छ। यस्तो कदमलाई संविधानविपरीत र अस्वीकार्य भन्दै पञ्चायतकालमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्न खोजिएको आरोप लगाइएको छ।
यसैगरी ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लंघन हुने चेतावनी दिइएको छ।
त्यस्तै, नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको उल्लेख गर्दै पार्टीले तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ।
समाज
थप सामाग्री
वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाद्वारा आरोहण
२२ घण्टा अगाडि
1.8kViews 301 Shares Share on Facebook Share on Twitter म्याग्दी । धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।…



