नेकपा केन्द्रीय संयोजन समितिको बैठक सम्पन्न : १९ प्रस्ताव पारित गर्दै राजनीतिक धारणा सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक १९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै मंगलबार सम्पन्न भएको छ। गत चैत १९ गतेदेखि सुरु भएको बैठकले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक तथा अन्तर्राष्ट्रिय परिस्थितिसम्बन्धी विविध विषयमा निर्णय र धारणा सार्वजनिक गरेको हो।

बैठकले सामन्तवादका अवशेष अन्त्य गर्दै दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादविरुद्ध उपेक्षित तथा उत्पीडित वर्ग–समुदायको पक्षमा समाजवादी क्रान्तिको लक्ष्यमा अघि बढ्ने संकल्प व्यक्त गरेको छ।

त्यस्तै, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई मत दिने मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचनमा संलग्न नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई धन्यवाद दिइएको छ। निर्वाचित सबै प्रतिनिधिहरूलाई बधाईसमेत दिइएको छ।

बैठकले वर्तमान सरकारलाई राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा, रोजगारी प्रवर्द्धन, सामाजिक न्याय र सुशासनतर्फ केन्द्रित हुन आग्रह गर्दै सकारात्मक कामको समर्थन र कमजोरीको विरोधसहित जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ।

गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगको प्रतिवेदनलाई असन्तुलित र अपूर्ण भन्दै निष्पक्ष पुनःछानबिनको माग गरिएको छ।

मूल्यवृद्धि, कालोबजारी र आपूर्ति व्यवस्थाको समस्या समाधान गर्न सरकारलाई कडा ध्यानाकर्षण गराउँदै पेट्रोलियम पदार्थ, ग्यास, यातायात भाडा तथा दैनिक उपभोग्य वस्तुमा नियन्त्रणको माग गरिएको छ।

सुकुम्बासी बस्ती व्यवस्थापन, सीमा नाकामा भन्सार नीतिका कारण सर्वसाधारणमा परेको असर, तथा राजनीतिक दल, कर्मचारी र व्यवसायीमाथि भएका कारबाहीबारे पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ।

यसैगरी, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति आपत्ति जनाउँदै लोकतान्त्रिक अधिकारको सम्मान गर्न आग्रह गरिएको छ।

हिरासतमा भएको संकास्पद मृत्युको उच्चस्तरीय छानबिन, क्षतिपूर्ति र जातीय विभेद अन्त्यका लागि कानुनी सुधारको माग पनि बैठकले गरेको छ।

बैठकले अन्तर्राष्ट्रिय विषयमा इरानमाथिको आक्रमणको विरोध गर्दै मध्यपूर्वमा युद्धविराम र वार्तामार्फत शान्ति स्थापना गर्न आह्वान गरेको छ।

त्यसैगरी, खाडी मुलुकमा नेपाली श्रमिकको सुरक्षा, रेमिटेन्स प्रभाव, तथा अर्थतन्त्रमा पर्न सक्ने असरबारे सरकारलाई सचेत गराइएको छ।

शान्ति प्रक्रिया अन्तर्गत बेपत्ता नागरिक खोजी, सत्य निरूपण तथा मेलमिलाप आयोगको कामलाई तीव्रता दिनुपर्ने मागसमेत बैठकले गरेको छ।

अन्त्यमा, संसद अधिवेशन स्थगन र अध्यादेशमार्फत कानुन अघि बढाउने कार्यको विरोध गर्दै तत्काल संसद बैठक आह्वान गर्न आग्रह गरिएको छ।

बैठकले राष्ट्रियता, सार्वभौमिकता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै वाम एकता र कम्युनिस्ट आन्दोलनको पुनर्गठनमार्फत समाजवादउन्मुख नेपालको निर्माणका लागि सबै देशभक्त तथा लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आह्वान गरेको छ।

Facebook Comments Box
TOP
170 Shares