ओलीले प्रचण्डसँग राखे कार्यगत एकताको प्रस्ताव, वाम सहकार्यको पहल तीव्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यगत एकताको प्रस्ताव राखेका छन्।

स्रोतका अनुसार ओलीले प्रचण्डसँग भेट गर्दै तत्काल पार्टी एकता सम्भव नभए पनि पहिलो चरणमा कार्यगत एकता गरेर अघि बढ्न सकिने प्रस्ताव गरेका हुन्। ओली प्रचण्डसँग छलफलका लागि उनको निवासमै पुगेको बताइएको छ।

गत फागुन २१ गतेको निर्वाचनपछि ओली र प्रचण्डबीच पटक–पटक भेटवार्ता भएको र पछिल्ला दुई भेटमा कार्यगत एकताको विषय प्रमुख रूपमा उठेको स्रोतको दाबी छ। पछिल्ला दिनमा दुई नेताबीच पार्टी एकतासँग जोडिएका विषयमा टेलिफोन संवादसमेत भइरहेको बताइएको छ।

ओलीले कार्यगत एकताबाट दुवै पार्टीका संगठनलाई परिचालन गर्न सहज हुने, आपसी विश्वास बढ्ने र आगामी राजनीतिक सहकार्यको आधार तयार हुने धारणा राखेको बताइएको छ।

विगतमा गरिएको पार्टी एकतामा हतार हुँदा संगठनात्मक समस्या, नेता–कार्यकर्ताबीच अविश्वास र अन्तरघुलनको अभाव देखिएको भन्दै यसपटक चरणबद्ध रूपमा अघि बढ्नुपर्ने ओलीको भनाइ रहेको छ।

कार्यगत एकताको अवधि आगामी निर्वाचनसम्म हुन सक्ने बुझाइ रहेको छ। चुनावअघि वा पछि पार्टी एकता गर्ने विषयमा भने स्पष्ट सहमति नभएको बताइएको छ।

यता प्रचण्ड पनि ओलीसँग सहकार्यको विपक्षमा नरहेको भए पनि नेकपा र एमालेबीचको एकता, पार्टीभित्रको अवस्था तथा संगठन व्यवस्थापनका विषयमा स्पष्ट निर्णयमा पुगिनसकेको स्रोतले जनाएको छ। प्रचण्डले आगामी कदमबारे आन्तरिक छलफल गरिरहेको बताइएको छ।

Facebook Comments Box
TOP
15 Shares