प्रेस स्वतन्त्रतामाथि बढ्दो चुनौती: एक वर्षमै उल्लङ्घनका घटना दोब्बरभन्दा बढी

काठमाडौँ । नेपालमा प्रेस स्वतन्त्रतामाथि चुनौती झन् गहिरिँदै गएको पाइएको छ । पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना उल्लेख्य रूपमा बढेको तथ्य सार्वजनिक भएको छ।

नेपाल पत्रकार महासङ्घले सार्वजनिक गरेको अध्ययनअनुसार सन् २०२५ मे ४ देखि २०२६ अप्रिल ३० सम्म १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएका छन्। गत वर्ष सोही अवधिमा यस्ता घटना ७३ मात्रै थिए, जसले यस वर्ष उल्लेख्य वृद्धि भएको स्पष्ट संकेत गर्छ।

महासङ्घकी अध्यक्ष निर्मला शर्माका अनुसार तुलनात्मक विश्लेषणले प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा तीव्र वृद्धि देखाएको छ। सञ्चार अनुगमन एकाइको विवरणअनुसार अभिलेख गरिएका १३१ घटनामध्ये सबैभन्दा बढी पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका ५१ घटना रहेका छन्। यस्तै, पत्रकार तथा सञ्चार सामग्रीमाथि आक्रमणका ३०, पेसागत असुरक्षासम्बन्धी १८ र कब्जा तथा अवरोधका २६ घटना भएका छन्।

यसैगरी नीतिगत बन्देजका तीन, पत्रकार पक्राउका दुई र एक जना पत्रकारको शङ्कास्पद मृत्युको घटना पनि अभिलेख गरिएको छ।

विशेषगरी गत भदौ २३ गतेको ‘जेनजी आन्दोलन’ प्रेस स्वतन्त्रताका लागि सबैभन्दा संवेदनशील घटनामध्ये एक बनेको महासङ्घले जनाएको छ। उक्त आन्दोलनका क्रममा मात्रै २६ वटा उल्लङ्घनका घटना हुँदा १०० भन्दा बढी पत्रकार तथा सञ्चार गृह प्रत्यक्ष प्रभावित भएका थिए।

आन्दोलनका क्रममा २३ र २४ गते भएका हिंसात्मक घटनामा विभिन्न सञ्चार संस्थामाथि आगजनी, लुटपाट र तोडफोड गरिएको थियो। महासङ्घका अनुसार संस्थागततर्फ करिब ६० करोड रुपैयाँ र पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ करिब १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। सोही क्रममा पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए।

प्रभावित सञ्चार संस्थामध्ये सार्वजनिक सेवा प्रसारणअन्तर्गतका रेडियो नेपाल र नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट, थाहा खबरलगायत विभिन्न क्षेत्रका सञ्चार गृह रहेका छन्। बुटवल, इलाम, चितवन र सप्तरीका सञ्चार संस्थाहरूमा समेत आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए।

महासङ्घले नीतिगत तहबाट समेत प्रेस स्वतन्त्रता सङ्कुचन गर्ने प्रयास भइरहेको जनाएको छ। अध्यक्ष शर्माका अनुसार मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक र सूचना प्रविधि ऐनजस्ता कानुनी प्रस्तावहरू अझै छलफलको चरणमै रहे पनि यसले स्वतन्त्र सञ्चारमाथि प्रभाव पार्ने चिन्ता व्यक्त गरिएको छ।

महासङ्घले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको खस्कँदो आर्थिक अवस्था, तथा पत्रकारको पेसागत र भौतिक सुरक्षामा बढ्दो जोखिमलाई प्रेस स्वतन्त्रता कमजोर पार्ने प्रमुख कारणका रूपमा औंल्याएको छ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड मानिन्छ। तर पछिल्लो तथ्यांकले नेपालमा यस क्षेत्र अझै असुरक्षित र चुनौतीपूर्ण बन्दै गएको स्पष्ट संकेत गरेको छ।

Facebook Comments Box
TOP
395 Shares