प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको सन्देश: ‘निर्भय पत्रकारिता र सत्य सूचनाको प्रवाह अपरिहार्य’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग गर्दै निर्भय, निष्पक्ष र उत्तरदायी पत्रकारितामा सक्रिय रहन आग्रह गरेका छन्।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार, नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्। “समाजमा सत्य र सही कुरा स्थापित गर्न सञ्चार माध्यमले विशेष जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्छ,” उनले सन्देशमा उल्लेख गरेका छन्।

राष्ट्रपतिले प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै विभिन्न लोकतान्त्रिक आन्दोलनमा सञ्चार क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। उनले प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने संवैधानिक अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै प्रेस जति स्वतन्त्र, निष्पक्ष र सबल हुन्छ, लोकतन्त्र पनि त्यति नै सुदृढ हुने धारणा राखेका छन्।

सन्देशमा पत्रकारहरूको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले सञ्चारकर्मीलाई सूचना सङ्कलनदेखि प्रवाहसम्मका सम्पूर्ण प्रक्रियामा निर्बाध रूपमा काम गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका छन्। साथै, सबै वर्ग र समुदायको आवाज सञ्चार माध्यममार्फत प्रभावकारी रूपमा मुखरित हुनुपर्नेमा पनि उनले जोड दिएका छन्।

राष्ट्रपति पौडेलले पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या र भ्रामक सूचनाप्रति सचेत रहन आग्रह गर्दै यस्ता चुनौतीले समाजलाई दिग्भ्रमित पार्ने र प्रणालीलाई कमजोर बनाउने खतरा रहेको औँल्याएका छन्। उनले यस्ता चुनौतीको सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न नेपाली प्रेस जगत्ले थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त गरोस् भन्ने कामना गरेका छन्।

Facebook Comments Box
TOP
137 Shares