

फेक रेस्क्यु काण्ड : सिआइबीद्वारा दोस्रो चरणको अनुसन्धान सुरु, आरोपितको सम्पत्तिमाथि कडाइ
काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकको बिमा रकम हत्याउन उद्धार (रेस्क्यु)को नाममा गरिएको संगठित ठगी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबारदेखि सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी कसुरमा विस्तृत छानबिन सुरु गरेको हो।
सिआइबीका अनुसार पहिलो चरणमा मुद्दा दायर गरिएका प्रतिवादीहरूको सम्पत्तिमाथि अनुसन्धान गर्ने निर्णय गरिएको छ। ब्युरोका एआइजी डा. मनोज केसीले औपचारिक निर्णय गर्दै अनुसन्धान अधिकृतलाई जिम्मेवारी तोकेपछि आरोपितहरूको सम्पत्ति रोक्का गर्ने प्रक्रिया समेत अघि बढाइएको छ। फेक रेस्क्यु मार्फत करोडौँ रुपैयाँ अवैध आर्जन भएको सूचनाका आधारमा यो अनुसन्धान तीव्र पारिएको हो।
यसअघि सिआइबीले गत ८ चैतमा ३३ जनाविरुद्ध मुद्दा दायर गर्दै करिब १ अर्ब ५१ करोड रुपैयाँ बिगो कायम गरेको थियो। सो क्रममा ११ जना पक्राउ परेका थिए भने अधिकांश धरौटीमा छुटिसकेका छन्।
पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका मालिक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका मालिक रवीन्द्र अधिकारी र म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र सुभाष केसी, श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना, प्यानोरमा हिमालय ट्रेकिङ एन्ड एक्सपेडिसनका सञ्चालक पासाङ शेर्पा, रोयल होलिडेज एड्भेन्चर्सका सन्दीप तिवारी तथा नेपाल चार्टर सर्भिसका पूर्वसञ्चालक खोमराज अधिकारी रहेका छन्।
सुरुमा सरकारी वकिल कार्यालयले हवाई सुरक्षाविज्ञ बताइने राजेन्द्रबहादुर सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको भए पनि पछि महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको निर्णयपछि उनीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
प्रतिवादीहरूविरुद्ध संगठित अपराध, राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ तथा लिखतसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। फरार अवस्थामै मुद्दा दायर गरिएका केही व्यक्तिहरू अदालतमा उपस्थित भई धरौटीमा छुटिसकेका छन् भने बाँकीको खोजी जारी छ।
फरार सूचीमा विवेकराज थपलिया, डा. मिनल्मा पाण्डे, श्यामसुन्दर कँडेल, सन्दीप ढुंगाना, शान्तकुमार बानियाँ, विनोद सापकोटा, जीवन पाण्डे, भानु ढकाल, फुर्वाछिरिङ शेर्पा, ममिता भट्ट, चुङ्ला शेर्पा, तेन्जिङ शेर्पा, पासाङ दाबा शेर्पा, बद्री लम्साल, कवीन्द्र लम्साल, सन्दीप भण्डारी, प्रकाशबाबु दाहाल, चन्द्र प्याकुरेल, कुमार भण्डारी, गणेश सिलवाल, श्रीराम केसी र रामकुमार फुयाँल रहेका छन्।
अनुसन्धानबाट ट्रेकिङ गाइड, उद्धार कम्पनी र अस्पतालबीचको मिलेमतोमा पर्यटकलाई सामान्य स्वास्थ्य अवस्थामै जबर्जस्ती ‘रेस्क्यु’ गरी अस्पताल पुर्याइ लाखौँ रुपैयाँको बिल बनाइ बिमा कम्पनीमार्फत असुल गर्ने गिरोह सक्रिय रहेको खुलेको छ।
यस प्रकरणले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छवि नै प्रभावित भएपछि सिआइबीले अनुसन्धानलाई प्राथमिकतामा राख्दै कडाइका साथ अघि बढाएको जनाएको छ।
समाज
थप सामाग्री-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.4kViews 99 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको…



