वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि दुष्प्रचार र धम्की प्रेस स्वतन्त्रतामाथिको आक्रमण : पत्रकार महासंघ काठमाडौं

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ तथा उनले नेतृत्व गरिरहेको साप्ताहिक जनआस्था विरुद्ध भइरहेको दुष्प्रचार, धम्की र मानसिक दबाबप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले एक विज्ञप्ति जारी गर्दै पत्रकार र सञ्चारमाध्यममाथि हुने यस्ता गतिविधि प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा समाचार सामग्रीप्रति असन्तुष्टि भए कानुनी र लोकतान्त्रिक माध्यम अपनाउनुपर्नेमा व्यक्तिगत चरित्रहत्या, सामाजिक सञ्जालमार्फत दुष्प्रचार, धम्की तथा मानसिक दबाब सिर्जना गर्ने कार्य अस्वीकार्य रहेको जनाइएको छ।

महासंघले पत्रकार श्रेष्ठ र जनआस्थाको पेशागत सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारका धम्की, त्रास र दबाबको विरोध गरेको छ।

साथै, लोकतान्त्रिक समाजमा स्वतन्त्र र निर्भीक पत्रकारिताको संरक्षण सबै पक्षको साझा दायित्व भएको उल्लेख गर्दै पत्रकारिता पेशाको मर्यादा र प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ।

Facebook Comments Box
TOP
247 Shares