सहरिया सासूआमाको बुझाइ- छोरी थाकेर आउँछे, बुहारी घुम्ने कुर्सीमा बसेर!

यमुना अर्याल (काफ्ले )                                                    साझा भोगाइ:
एउटै अफिसमा एकै समय एउटै प्रकृतिको काम गर्ने श्रीमान श्रीमती प्राय: एकैचोटि घर पुग्छन्।

घरमा पुग्नासाथ श्रीमानको आदेश आउँछ, ‘आज कस्तो थकियो, जाऊ त एक कप चिया पकाएर ल्याऊ।’

कुनै पहाड फुटाएको त श्रीमतीले देखेकी छैनन्, सँगै वल्लोपल्लो क्याबिनमा बसेर काम गरेर सँगै फर्किंदा श्रीमतीलाई घरमा दाल, चामल भए नभएको, तरकारी भए नभएको, छोराछोरीको लागि केही सामान लगिदिन पर्ने हो होइन?  अनेक तर्कना मनमा घुमिरहन्छन् तर श्रीमानलाई अफिस गइदिनु छ जागिर खाइदिनुछ, घरमा पुगेर पनि अफिसको तोक आदेश लगाउने बानी हटिसकेको  हुँदैन।

अझ सँगै कुनै परीक्षाको फारम भरेका हुन्छन्, ‘ल मेरो परीक्षा छ डिस्टर्व नगर्नू है, खाना पाकेपछि बोलाउनू, केटाकेटी यता नपठाउनू’ कोठा भित्रबाट चुकुल लाएका श्रीमानको आदेश आउँछ।

श्रीमती भान्सा, छोराछोरीका अनेक माग, छोराछोरीको होमवर्कको ड्युटी, …. यति गरिसक्दा लखतरान भइसक्छिन्।

उनको पनि त जाँच आएको थियो, उनलाई पनि पढ्न पथ्र्यो होला तर कस्ले पढ भन्ने? श्रीमानको फ्याट्ट नाम निस्कन्छ, श्रीमतीको निस्कन्न।

साथीका श्रीमतीको नाम निस्कन्छ  यो खबर सबैभन्दा पहिले यस्तै श्रीमानहरूलाई थाहा हुन्छ।

अनि तिनै श्रीमान महोदयको व्यग्यं हुन्छ आफ्नी पत्नीतर्फ ‘राम्रोसँग पढे पो नाम निस्कन्छ, हेर त फलानाका श्रीमतीको नाम  निस्क्यो’।

तर यी महोदयहरूलाई के हेक्का  फलानाका श्रीमानले म काम गर्छु तिमी पढ भनेर माहोल पो  बनाइदिएका थिए कि!

घरधन्दा सम्हालेर श्रीमतीको करियर सोच्ने श्रीमानहरू पनि यही परिधिभित्रै देखिन्छन्। समय नदिने, सहयोग नगर्ने अनि केही गरिनँ भन्नेहरूको जमात पनि यही चौघेराभित्रै देखिन्छ।

यी साझा भोगाइ हुन् आम शिक्षित, केही गरौं भन्ने जागिरे, जागिर खाने प्रयत्न गरेका शिक्षित, सहरिया महिलाहरूको।
उनीहरूको लागि पढाइ भनेको प्राय: पाँचौं प्राथमिकतामा पर्छन्।

घरपरिवार,  बालबच्चा, आफन्त, त्यसपछि समय बच्यो भने बल्ल आफ्नो माथिल्लो करियरको बारेमा सोच्ने, अध्ययन गर्ने हो।
साझा भोगाइमध्येको एउटा प्रतिनिधि भोगाइ:

एक जना साथी प्राइभेट अफिसमा मार्केटिङको काम गर्छिन्। मार्केटिङको काम सजिलो छैन, अवसर र चुनौती दुवैसँगै हुन्छन्।
कुर्सीमा बसेर आरामसँग कुरा गरेर होइन उभिएरै धेरै काम गर्नुपर्छ। उनकी नन्द सरकारी अफिसमा नायब सुब्बा छिन्। साथीले विस्तारै आफ्नो भोगाइका गाँठाहरू फुकाउँदै गइन्।

बिहान प्राय: नन्द भाउजू सँगै निस्कन्छौं घरबाट। मेरो सानो बाबु छ, दुई वर्षको। घरमा बिहे नभएकी एक जना आमाजू र सासू-ससुरा हुनुहुन्छ।

बच्चा हेर्नको लागि केही तनाव छैन। मेरो श्रीमान कलेज पढाउनुहुन्छ, उहाँ सधैं बिहान पाँच बजे घरबाट निस्कनुहुन्छ, साँझ एकैचोटि घर आउने हो।

काठमाडौंको रैथाने बासिन्दा हुँ। काठमाडौंमा घर छ। दुई तला भाडामा दिएका छौं।  तीन जनाको जागिर छ, सानो छोरा छ एक किसिमले मलाई स्वर्गको अनुभूति गराउने हरचिज मेरै समिपमा छन्।

कलेज पढ्दासँगै पढ्ने साथीको कोठामा जाँदा वैराग लाग्थ्यो, एउटा सानो कोठामा त्यहीँ ग्यासको सिलिन्डर, त्यहीँ सुत्ने खाट, त्यहीँ पकाउने चुलो, त्यहीँ पढ्ने किताबका ¥याक, त्यहीँ एउटा कोठाभित्र सारा ब्रहमाण्ड अटाए जसरी खादिएको देख्थेँ।

सासै अड्केजस्तो हुन्थ्यो। आफ्नो डङडङ्ती तीन तलाको घर थियो, हरेक सदस्यका लागि अलगअलग कोठा, पाहुनाका लागि समेत बेग्लै कोठा थिए। तर मेरा काठमाडौं बाहिरका साथीहरू कति सकसले सहरका डेरामा पैसा तिरेर बस्थे।

मनमनै सोच्थेँ म साँच्चि कति भाग्यमानी है!

मलाई कहिल्यै कोठा भाडाको चिन्ता हुँदैनथ्यो। अहिले मेरा तिनै उकुसमुकुस कोठामा बस्ने साथीहरू अधिकृत र उपसचिव भइसकेका छन्, कोही आफ्नै उद्यममा छन्। अर्काको ठाउँमा आएर संघर्ष गर्ने साथीहरू कहाँ पुगिसके, म कथित जमानादेखिको घरबेटी भई टोपलेको मान्छे जहाँको तहीँ छु!

यी विगतका कुरा भए। मास्टर्स् सकाएपछि मार्केटिङ अफिसरको विज्ञापन देखें, आवेदन दिएँ नाम निस्कियो। समय अलि बढी दिनु परे पनि कमाइ राम्रै हुन्छ, अरूसँग हात थाप्नु पर्दैन। यो मात्रै होइन गाउँका साथीको संगतले धेरै कुरा सिकायो, राजधानी र गाउँका आमाहरूको सोचाइमा धेरै फरकपन देखेँ।

एक जना सुत्केरी साथी भेट्न उनको कोठामा  गएकी थिएँ, सुत्केरी बुहारीको त्यही बेलामा लोक सेवाको जाँच परेछ।
डेढ महिनाकी सुत्केरी बुहारीलाई गाउँकी सासूआमाले कति आँट भरोसा दिएकी। म त छक्क परेँ।

‘कति दु:ख गरेर पढेकी छ नानी, अब बच्चा भयो भनेर जाँच हापेर त भएन नि। अर्को साता परीक्षा छ। जति सक्छौ उति लेख , छोड्नु हुँदैन’ भनेर उल्टै नपढेकी सासू आमाले बुहारीलाइ सम्झाएको दृष्यले आफैंलाई लज्जित बनायो।

सरकारी जागिर फ्याट्ट नाम निस्कियो भने त टन्टै साफ, बच्चा पनि जागिर पनि सँगै हुन्छ। बच्चा म हेर्छु बुहारी पढ’ सासूको ढाडसले सुत्केरी बुहारी दंग थिइन्।

नभन्दै ती साथीले त्यसै पटक सुब्बामा नाम निकालिन्।

सहरमा आमाहरूको सोच यतिविधि परिवर्तन भएको थिएन र अहिले पनि भएको छैन।

सहरमा बस्दैमा चेतना विकास हुने होइन रहेछ भन्ने कुरा आफ्नै भोगाइबाट सिक्दैछु।। छोरी र बुहारीको अन्तर हरेक साँझ छरपस्ट भएको देख्छु, मन निकै गह्रौं हुन्छ। सँगै हिँडेका छोरी बुहारी सँगै घर फर्कंदा सासू र आमाजुको स्वर लगभग समान प्रकृतिको देख्छु हरक्षण।

आँगनमा पानीको धारो छ, दुवै जना धारामा हातमुख धुन्छौं अनि भित्र पस्छौं।

मेरो सानो छोरा बिहानदेखि आमाको पर्खाइमा हुन्छ।

मम्मी… भन्दै परैबाट झम्टिन आइपुग्छ। दिनभरि एक डेढ घण्टाबाहेक टुसुक्क बसेकी हुन्न।

हरेक सामानको  डिल गर्ने, हाकिमसँग रिर्पोटिङ गर्ने, बोल्दा र उभिँदा जीउ अरठ्ठ परेको  हुन्छ।

छोराको तोते बोली र मन्द मुस्कान अनि आमाप्रतिको उसको लगावले सबै कुरा निमेषभरमा बिर्साइदिन्छ।

छोरो बोकेर आफ्नो कोठामा जान्छु, अफिसको लुगा फेर्न पाएको हुँदिनँ चसक्क बिझ्ने कुराहरू कानमा परिहाल्छन्।

सायद बुहारीले सुन्दिन होला भनेर पनि भन्छन् होला तर नराम्रा कुराहरू सबैभन्दा चाँडै यी कानमा पर्छन्।

‘ए कान्छी दिनभरि अफिसमा कति थाकेकी होलिस् ला यो खाँ, ला ऊ खाँ’ छोरीलाई अनेक परिकारको मेनु तेर्सछन्। त्यही छोरीसँगै निस्केकी बच्चाकी आमा म बुहारीको भने कुनै स्थान देख्दिनन्, एकदिन होइन कुनै दिन पनि।

एकैछिनमा मेरो श्रीमान आइपुग्छन्। बच्चाले मेरो काख छोडेको हुँदैन। बाबा आएपछि बाबासँग जान्छ अनि बल्ल म अफिसको लुगा फेर्छु।

श्रीमानले मैलाई अडर दिन्छन्, ‘जाऊ त एक कप मरिच हालेको चिया बनाएर ल्याऊ, दिनभरी काममा व्यस्त भइयो, मिठो च्या खान नि पाइएन’।

चिया त मलाई पनि खान मन थ्यो होला, काममा त म पनि व्यस्तै थिएँ होला तर मलाई मिठो चिया कस्ले पकाएर ल्याइदिने र? जति खलतरान परे पनि नयाँ जोश जाँगर निकालेर भान्सामा जान्छु।

सासू, ससुरा र आमाजुको  सामूहिक माग आउँछ।

‘ए बुहारी मलाई पनि चिया बनाऊ है’ तर मरिच नहाल, ससुरालाई अदुवा हुँदैन, फेरि आमाजुलाई दूध चिया नभई हुँदैन।

हरे शिव एउटा भाँडोमा पकाउने चिया कति थरीको? कति वटा स्वाद चाहिने? जे जे भए पनि त्यही पानीमा चिनी र चिया पत्ति उमाल्ने होइन र? धन्न नन्द चिया पिउदिनन् र उनको अर्डर आउँदैन।

सबैका माग पूरा गर्नैपर्छ, त्यो पनि मुखबाट बोली निस्कँदासाथ ओठ तातो भइहाल्नु पर्छ।
‘एक कप चिया उमाल्न नि दिनभरी लाउँछे।’ सानो स्वरमा सासूको मुखाराविन्दुबाट निस्किने पवित्र वाणी मेरो कानमा परिहाल्छ।
सबैलाइ चिया टर्काउँछु , कसैलाई चिनी कम, कसैलाई बढी हुन्छ, ओहो कति धेरै चिनी हालेकी?? कति पिरो मरिच मात्रै पकाको हो कि के हो? हैत्तेरी दूध राम्रोसँग पाकेकै रैनछ कस्तो चिया……’ जस फिटिक्कै आउँदैन।

मलाई त बानी परिसक्यो एकैछिन मौन बस्छु। कान थाक्छन्। विस्तारै आफैं सुन्न छोडीहाल्छन्।

कसोकसो श्रीमानले एक वचन सोध्न भ्याउँछन् चियाका कप उठाउन जाँदा ‘खै त तिम्लाई च्या? तिम्ले खाइनौ च्या? एक कप दूधै खाको भए नि हुन्थ्यो, भाँडोमा दूध छ त!’

चिया होइन कतिबेला भातै खाएर ओछ्यानमा लम्पसार परौँ जस्तो हुन्छ।

शरीर गलेर तर आफ्नो पीडा कस्लाई सुनाऊँ।

जे भए पनि जागिर खानै पर्‍यो। आफ्नो सोह्र सत्र वर्षको पढाइको लगानी छ, यत्रो पढेर पनि गृहिणी नै हुनुपर्‍यो भने मेरो पढाइको के भ्यालू भयो र!

गाह्रो मान्ने छुट मलाई छैन। भित्रभित्रैबाट नयाँ जोश निकाल्न खोज्छु तर शरीर फतक्कै हुन्छ।

जे होस् नन्दले हरेक काममा सघाउँछिन्।

‘कान्छी तँ थाकेकी छस् बस्, भाउजूले खाना पकाइहाल्छे नि’ हरेक साँझ सासूको यही भाषा दोहोरिन्छ। सम्झँदा नि उदेक लागेर आउँछ।

‘दिनभर अफिस गयो, घुम्ने कुर्सीमा बस्यो, यश गर्‍यो आयो। यो (नाति) चकचके हेर्न कति गाह्रो छ मलाई ? छिटो खाना बनाउन भन भाउजूलाई’ यी शब्दले हरेक दिन मेरा कान पवित्र हुन्छन्!

यो सुन्दाचाहिँ मेरो गाउँकी साथीको सासू सम्झन्छु। ‘पढ् बुहारी पढ् फ्याट्ट नाम निस्किन्छ’ भन्ने गाउँकी नपढेकी सासूको तुलना राजधानीकी शिक्षित घरानिया सासूसँग गर्नुपरेको छ।

म एक जनाको मात्रै होइन मेरा अधिकांश साथीको यस्तै पीडा देख्छु।

अफिस जानेहरू केही काम गर्दैनन्, दिनभरी घुम्ने कुर्सीमा आराम गरेर आउँछन् भन्ने कस्तो मानसिकता हो? मानसिक थकाइको मापन कसरी गरेर देखाऊँ? अझ हाकिमले यति समयभित्र यो रिपोर्ट बुझाउनु भनेको दिन पानी खाने पनि फुर्सद हुँदैन, काम केही तलमाथि भयो भने हाकिमको हप्कीदप्कीले दिनै उराठलाग्दो हुन्छ  त्यसमाथि घरपुग्दा दिनभरि त्यही घुम्ने कुर्सीमा बसेर आउने त हो नि भनेको सुन्दा मुटु नै चसक्क हुन्छ।

चकचके बच्चा हेर्दा गाह्रो हुन्छ सासूको पीडा बुझ्छु म। सासूलाई के मनपर्छ, कस्तो मनपर्छ, हरेक पटक सामान किन्दा मेरो नजर त्यहाँ जान्छ।

आफ्नी आमाको दर्जा मैले दिन्छु भने कान्छी छोरी जतिको दर्जा चाहिएन कम्तीमा  बुहारीकै भए पनि दर्जा दिए त हुन्थ्यो नि!
सहर भन्छौं तर यही सहरका प्रत्येक गल्लीमा छोरी र बुहारीको तुलना र विभेदको स्वरूप कस्तो छ भन्ने कस्लाई थाहा?

छोरी थाक्दा बुहारी पनि थाक्छन् कम्तीमा यति कुरो बुझौं सहरिया शिक्षित आमाहरू/सासूहरू तपाईंहरूको सधैं जयजय हुन्छ।

आज तपाईंले बुहारीको खेदो खन्ने काम भोलि तपाईंकी सम्धिनीले तपाईंकी छोरीप्रति गरिन् भने तपाईंलाई कस्तो लाग्ला?

कम्तीमा यति कुरा बुझ्नु सासूआमा तपाईंकी बुहारी केही गरेर अवश्य देखाउँछिन्।

Facebook Comments Box
TOP
Shares