

जनपक्षीय पत्रकारिता : फेरिएको चरित्र
बलराम थापा
आजको डिजिटल युगमा जनपक्षीय पत्रकारिताको चरित्र कस्तो हुने ? पुँजीवादी संरचनाभित्र रहेर यसको प्रयोग र विकास कसरी गर्ने ? बहुराष्ट्रिय कम्पनीहरूमार्फत् निर्मित सञ्चार–नियन्त्रित साम्राज्यवादी वर्चश्वलाई तोडेर वैकल्पिक पत्रकारिताको धारलाई कसरी रक्षा गर्ने ? सञ्चार प्रविधिको अभूतपूर्व विकासले पैदा गरेको अँध्यारो पुँजीवादी सुरुङबाट निकालेर सञ्चारकर्मलाई जनता र परिवर्तनको पक्षमा लड्न सक्ने बौद्धिक सेनाका रूपमा कसरी परिचालन गर्ने ? यस्ता यावत प्रश्नहरू हाम्रा अघि इतिहासले उभ्याइदिएका प्रश्नहरू हुन् । यी प्रश्नहरूको उत्तर नखोजी जनपक्षीय पत्रकारिताको मार्गचित्र कोर्न सकिँदैन । यसका लागि एउटा लामो र श्रृङ्खलाबद्ध अभियानको आवश्यकता पर्दछ । यस लेखमा यी प्रश्नहरूको समग्र उत्तर खोज्ने प्रयास नगरी नेपालको जनपक्षीय पत्रकारिताले आज भोगिरहेका समस्याहरूबारे सामान्य चर्चा गरिनेछ ।
बितेको दशक नेपाली जनपक्षीय पत्रकारिता क्षेत्रका निम्ति उत्साहजनक रहेन । सङ्गठन निर्माणमा सङ्ख्यात्मक दृष्टिले उपलब्धि हासिल भए पनि वैचारिक–राजनीतिक रूपमा गुणात्मक विकास गर्न सकिएन । विभाजन र एकताको चक्रीय भूमरीमा सङ्गठन अल्झदा यसतर्फ ठोस योजना बन्न सकेन । फलस्वरूप सङ्गठनको वैचारिक–राजनीतिक धार कमजोर मात्र भएन, सिङ्गो जनपक्षीय पत्रकारिताकै बहस र एजेन्डाहरू समेत ओझेलमा पर्न गए ।
प्रत्येक समाजमा चल्ने वर्गसङ्घर्षको स्वरूप र चरित्रले त्यस समाजका सबै अवयवहरूको चरित्र र विकासको गति निर्धारण गर्ने गर्दछ । वर्गसङ्घर्ष चलायमान हुँदा समाजका सबै अङ्गहरू तरङ्गित हुन्छन् र यसले आफ्नो चरित्र निर्माण गर्दै विकासको बाटोमा अघि बढ्दछ । तर, वर्गसङ्घर्ष सुषुप्त भयो भने समाजका सबै चिजहरू जमेको पोखरीझैँ स्थिर बन्न पुग्दछन् । नेपाली जनपक्षीय पत्रकारिताको बितेको दशक त्यहीँ जमेको पोखरीकै अवस्थामा रह्यो । जनपक्षीय पत्रकारिताको क्षेत्रमा क्रियाशील भएकाहरूले सञ्चालन गरेका मिडियाहरू पनि एजेन्डाविहीन र पक्षधरताको सिद्धान्तभन्दा बाहिर रहेर चले÷चलिरहेका छन् । यस अर्थमा भन्ने हो भने यस अवधिमा जनपक्षीय पत्रकारिता विकासको बाटोमा नभएर विघटनतर्फको उल्टो दिशातर्फ उन्मुख भइरहेको स्पष्टै देख्न सकिन्छ ।नेपालको पत्रकारितामा डिजिटल माध्यमहरूको प्रवेशअघि जनपक्षीय पत्रकारिताको सशक्त उपस्थिति थियो । खुला वा भूमिगत रूपमा राजनीतिक परिवर्तनको नेतृत्व गरिरहेका पार्टीहरूका मुखपत्र निकै प्रभावकारी रूपमा प्रकाशित हुने गर्दथे । तिनै पार्टीहरूमा आवद्ध जनवर्गीय सङ्गठन वा मोर्चाहरूका मुखपत्रले जनताका आवाज मुखरित गर्दथे । निरङ्कुश पञ्चायती शासन व्यवस्थाका विरुद्ध जनतालाई सुसूचित गर्ने उद्देश्यका साथ साप्ताहिक पत्रिकाहरूको संस्थागत प्रकाशनारम्भ भएपछि जनपक्षीय पत्रकारिताको आधार तयार भएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् यिनै साप्ताहिक पत्रिकाहरू नै जनपक्षीय पत्रकारिताको मूलधार जस्तै बन्न पुगे । जनयुद्धको शङ्खघोषपछि भएको जनपक्षीय पत्रकारिताको विकास नेपालका कर्पाेरेट मिडियालाई चुनौती दिने अवस्थामा पुग्यो । वितरण, प्रभाव र विश्वसनीयताका दृष्टिले यो अवधि जनपक्षीय पत्रकारिताको ऐतिहासिक अवधिकै रूपमा अङ्कित हुन पुग्यो । २०६२÷६३ को युगान्तकारी परिवर्तनपछिको केही समयसम्म जनपक्षीय पत्रकारिताको अवस्था हराभरा भए पनि त्यसपछि ओरालो लागेको यात्रा अहिलेसम्म आइपुग्दा पूर्णरूपमा रक्षात्मक बन्न पुगेको छ ।
सोह्रौं शताब्दीको अन्त्यतिर विश्वमा पहिलो पटक पत्रिका प्रकाशन सुरु भएको मानिए तापनि नेपालमा त्यो प्रविधि भित्रन झन्डै दुई सय वर्ष लागेको थियो । तर, पछिल्लो चरणमा विकास भएको डिजिटल प्रविधिको सञ्चार माध्यम यहाँ आइपुग्न तीन वर्ष पनि लागेन । यसले आजको विश्व कति भूमण्डलीकृत बन्न पुगेको छ भन्ने कुरालाई पृष्टि गर्दछ । पत्रकारिताको क्षेत्रमा आएको तीव्रतम बदलाव र प्रविधिको फैलावट नै हिजोभन्दा आज फेरिएको पहिलो तथ्य हो । प्रविधिको यो फैलावट जनताको आधारभूत तहसम्म पुगिसकेको छ । यही प्रविधिमार्फत् विभिन्न रूप–रङ्गका डिजिटल माध्यमहरूबाट प्रत्येक पल जनतामा नयाँ–नयाँ मनोविज्ञानहरू पैदा भइरहेका छन् । यस्तो अवस्थामा अब परम्परागत ढङ्गबाट मात्रै जनपक्षीय पत्रकारिताको रक्षा हुन नसक्ने कुरा स्वतः स्पष्ट छ ।
प्रविधिको यो दैत्याकार फैलावटमार्फत् जनताका आधारभूत तहसम्म सहजै पुगेर विभिन्न माध्यममार्फत् प्रसारित सामग्रीहरूले सिर्जना गरेको भ्रमपूर्ण मनोविज्ञानलाई चिर्ने विधिको विकास गर्नु अहिलेको हाम्रो प्राथमिक विषय बनेको छ । यो क्षेत्रमा दिनानुदिन द्रुतत्तर गतिमा विकास भइरहेका नयाँ–नयाँ प्रविधिलाई सिङ्गो मानवजातिको हित एवम् समाज परिर्वतनका पक्षमा कसरी प्रयोग गर्ने भन्ने सीपको विकास आजको हाम्रो मूलभूत विषय बन्न पुगेको छ । हिजो जनतालाई जागृत तुल्याउनका लागि भित्तेलेखन पर्चा÷पम्प्लेटहरू बढी उपयोगी ठानिन्थे । यसका लागि टाइपराइटर, लिथो, लेटर प्रेस, अफसेट प्रेस हुँदै अघि बढेको जनपक्षीय पत्रकारिताको इतिहास अब एउटै प्लेटफर्ममा अक्षर, तस्बिर, ग्राफिक्स, श्रब्य–दृश्य (मल्टिमिडिया) प्रयोग गर्ने अवस्थामा आइपुगेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (यन्त्रमानव) को निर्माण र आफ्नो वर्चश्वका लागि तिनको प्रयोगको प्रतिस्पर्धामा रहेका प्रभुत्वशाली राष्ट्रहरूका गतिविधि अब साइबर द्वन्द्वका रूपमा देखा पर्न थालेका छन् । यसरी हेर्दा प्रविधिको अधिकतम प्रयोगले जनपक्षीय पत्रकारिताको विकासलाई इतिहासको नयाँ घुम्तीमा उभ्याइदिएको छ । यसबेला हामीले ठीक ढङ्गबाट जनपक्षीय पत्रकारिताको मार्गचित्र कोर्न सक्यौं भने हाम्रो प्रयास (जनपक्षीय पत्रकारिता) विकासको उकालो बाटोमा लाग्नेछ । अन्यथा, आज रक्षात्मक अवस्थामा रहेको जनपक्षीय पत्रकारिता इतिहासको विषय मात्र बन्न पुग्ने खतरा दृष्टिगोचर भइरहेको छ ।
प्रविधिको यस प्रकारको विकासले सञ्चारकर्मको दायरा फराकिलो पारेको छ । हिजोको जस्तो महिनौंअघि प्रकाशित सामग्री कुरेर पढ्नुपर्ने अवस्था आज रहेन । जनताको आधारभूत पङ्क्तिमा समेत डिजिटल माध्यम हात–हातमै पुगिसकेको छ । पछिल्लो एक तथ्याङ्कअनुसार नेपालमा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता मात्रै एक करोड नाघिसकेका छन् । त्यस्तै ट्वीटर, युट्युव, ह्वाट्सएप, विच्याट, इन्स्टाग्रामलगायतको प्लेटफर्महरूका प्रयोगकर्ता पनि ह्वात्तै बढिरहेका छन् । डिजिटल माध्यमहरूका प्रयोगकर्ता सबैलाई मिलाएर हेर्ने हो भने कूल जनसङ्ख्याको झन्डै साठी प्रतिशत नाघिसकेको अनुमान गर्न सकिन्छ । यी सबै तथ्यहरूले पत्रकारिताको अवस्थालाई नै नयाँ ठाउँमा पु¥याएको स्पष्टै देख्न सकिन्छ । त्यसैले, फेरिएको परिस्थितिअनुरूप जनपक्षीय पत्रकारिताको चरित्रको स्पष्ट परिभाषा एवम् यसको सञ्चालनका निम्ति नयाँ विधिको विकास नितान्त जरुरी भइसकेको छ ।
सञ्चार क्षेत्रमा आएको यो प्राविधिक बदलावलाई देखाएर जनपक्षीय पत्रकारिताका आधारभूत मान्यताहरूको भ्रष्टीकरण गर्ने खतरा हाम्रा सामु देखिएको अर्काे चुनौती हो । फेरिएको त केवल वर्गसङ्घर्षको स्वरूप र प्रविधिको विकास मात्र हो, वर्गसङ्घर्षको आधारभूत मान्यता नै फेरिएको कदापि होइन । यसैगरी जनपक्षीय पत्रकारिताको सैद्धान्तिक मान्यता पनि बदलिएको छैन । तर, प्रविधिको अभूतपूर्व विकासको हवाला दिएर पुँजीवादले तयार पारेको कथित व्यावसायिक पत्रकारिताको अँध्यारो सुरुङभित्र जनपक्षीय पत्रकारिताको मान्यतालाई विलीन गराउने कलात्मक प्रयास निकै जोडतोडका साथ चलिरहेको छ । जनपक्षीय पत्रकारिताका सामु व्यवस्थापकीय पाटो ठूलो चुनौतीका रूपमा भने निश्चय नै उभिएको छ । सामूहिक व्यवस्थापन असफल हुने तर एकल व्यवस्थापन सफल हुने मोडलको विकास पुँजीवादी सुरुङमा जनपक्षीय पत्रकारिताको मान्यतालाई विलीन गराउने अभ्यासको एउटा अङ्ग हो । सत्ता, पार्टीको शक्ति र आन्दोलनको विरासतमा प्राप्त भएको प्रभावलाई एकल व्यवस्थापनमा प्रयोग गरेर सफलता वा असफलताको मानक बनाउन खोज्नु पनि त्यही अभ्यासको अर्काे निरन्तरता हो । विगतमा पार्टीको लगानीमा जनपक्षीय पत्रकारिताको विकासका लागि गरिएको अभ्यासको असफलता र सो बापत प्राप्त शेयरलाई निजी सम्पत्तिमा रूपान्तरण गरेर यही क्षेत्रमा रमाउने प्रवृत्ति पनि जनपक्षीय पत्रकारितालाई ‘घाटमा पु¥याउने मलामी’ हुन् भन्ने कुरा पनि स्पष्टै छ । यद्यपि, यस्ता चिहान खोतलेर मूर्दा निकाल्नुभन्दा पनि जनपक्षीय पत्रकारिताको रक्षा र विकासका लागि यसका सैद्धान्तिक मान्यताहरूमाथि नयाँ बहस आजको आवश्यकता भएको छ ।
जनपक्षीय पत्रकारिताको पहिलो सर्त एजेन्डाहरूको छनोट र प्रचारमार्फत् जनतालाई जागृत पार्नु हो । एजेन्डाहरूको छनोट मनोगत रूपमा गर्न सकिँदैन । यसका लागि समाज परिवर्तनको इतिहासको राम्रो ज्ञान हुनु जरुरी छ । तत्कालीन समाजको वर्गस्थिति एवम् अग्रगमन र प्रतिगमनकारी शक्तिको अवस्था बुझेर एजेन्डाको सही छनोट गर्न सकिन्छ । प्रतिगमनकारी शक्तिले भ्रमपूर्ण प्रचारमार्फत् जनताको भावनामा खेलिरहेका हुन्छन् । परिवर्तनका मुख्य एजेन्डाबाट मोड्न जनतालाई छुने सानातिना संवेदनशील विषयलाई उठाएर दिग्भ्रमित पार्ने तिनीहरूको प्रयत्नलाई विफल पार्न हामीले त्यही स्तरका सामग्रीहरू उत्पादन र सम्प्रेषण गर्ने विधिको विकास गर्न सक्नुपर्दछ । पछिल्लो पटक उनीहरू धर्म र संस्कृतिको विषयलाई प्रमुखताका साथ उठाएर परिवर्तनका एजेन्डाहरूलाई ओझेल पार्ने प्रयत्न गरिरहेका छन् । यस्तै विषयलाई उठाएर पश्चगामी शासकीय मनोविज्ञानको निर्माण गर्ने दुस्प्रयास भइरहेको छ । उनीहरूले पत्रकारितालाई पुँजीवादी विचार निर्माण गर्ने कारखानाका रूपमा दुरूपयोग गरिरहेका छन् । यो प्रवृत्तिलाई परास्त गर्न हामीले पनि मिडिया प्लानिङमार्फत् एजेन्डा छनोट गर्नु जरुरी छ ।
सञ्चारकर्मलाई वैचारिक हतियारका रूपमा प्रयोग गर्ने तरिका शासकीय चरित्रअनुरूप फरक–फरक हुने गरेको छ । सामन्तवादले यसलाई निजी प्रभावको आधारमा प्रत्यक्ष प्रयोग गर्ने तरिका अपनायो । देखिने र बुझिने गरी कुनै निश्चित शक्तिकेन्द्रलाई प्रत्यक्ष समर्थन गर्ने÷गराउने वा उसका पक्षमा मनोविज्ञान निर्माण गर्ने हस्तक्षेपकारी चरित्र सामन्तवादी शासन व्यवस्थाको तरिका थियो । यो तरिका प्रयोग गरिँदा कुनै निश्चित पात्र वा संस्थालाई केन्द्र बनाएर ‘दैवी शक्ति’ का भ्रामक कथाहरू कथ्ने र प्रचार गर्ने गरिन्थ्यो । नेपालमा अझै पनि यदाकदा यस्तो अभ्यास हुने गरेको छ । प्रत्यक्ष देखिने र बुझिने यस प्रकारको भद्दा हस्तक्षेपकारी तरिकासँग जनपक्षीय पत्रकारिताको रङ टाढैबाट छुट्टिन्थ्यो । तर, पुँजीवादी तरिका यो भन्दा फरक ढङ्गले प्रयोग भइरहेको छ । यसले सबैभन्दा पहिलो कुरा त ‘व्यवस्थापकीय कौशल’ मार्फत् जनपक्षीय पत्रकारिताको सामूहिक स्वामित्वको सुन्दर चरित्रमाथि आक्रमण गर्न सफल भएको छ । बहुराष्ट्रिय कम्पनीहरूद्वारा भइरहेको विज्ञापन वितरणमार्फत् निजी सञ्चार संस्थाहरूको विकास र सार्वजनिक÷सामूहिक सञ्चार संस्थाहरूको विनास पुँजीवादको मिडिया नियन्त्रणको एउटा सफल विधि बन्न पुगेको छ । यो विधिको प्रतिरोध गर्न हामीले ‘विकेन्द्रित व्यवस्थापन, केन्द्रित एजेन्डा’ भन्ने नारा अघि सार्नु पर्दछ । निजी व्यवस्थापनमा देशैभरि छरिएर सञ्चालन भइरहेका जनपक्षीय मिडियाहरूमार्फत् एजेन्डाहरू केन्द्रित गरेर प्रचार गर्ने विधिको विकासले उसको यो कर्पोरेट तरिकासँग लड्न सकिन्छ ।मिडियामा सम्प्रेषण गरिने सामग्रीको कलात्मक प्रयोग पुँजीवादको अर्काे विशेषता हो । उसले सबैभन्दा पहिले जनतालाई आफूतिर आकर्षित गर्ने नाराहरू तय गर्दछ र सोही अनुरूपका सामग्री निर्माण गर्ने गर्दछ । त्यसका लागि विभिन्न प्रविधिहरूको प्रयोगमार्फत् सङ्कलित तथ्याङ्कहरूका आधारमा लक्षित समूहहरू निर्धारित गर्दछ । यसरी निर्धारण गरिएका लक्षित समूहलाई फरक–फरक सामग्रीको उत्पादन एवम् वितरणमार्फत् उनीहरूमा मनोविज्ञान निर्माण गरेर आफ्नो वर्चश्व कायम गरिरहेको छ । जनपक्षीय पत्रकारितामा प्रविधिको यो कलात्मक प्रयोग ज्यादै कम हुने गरेको छ । त्यसैले अबको हाम्रो जोड एजेन्डासहितका कलात्मक सामग्रीको उत्पादन र वितरणमा समेत हुनु पर्दछ । किसान–मजदुरसहित आम उत्पीडित वर्गलाई जागृत र एकताबद्ध पारिरहने सामग्रीको उत्पादन र वितरणमा केन्द्रित गरिनुपर्दछ । नयाँ पुस्तालाई उपभोक्तावादी संस्कृतिमा डुबाउने पुँजीवादी प्रचार संयन्त्रको विकल्पमा विचारधारात्मक दृष्टिले नयाँ विश्वदृष्टिकोण प्रदान गर्ने सामग्रीको उत्पादनमा जोड दिइनु पर्दछ । क्रान्तिकारी नेतृत्वका विरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारलाई तोड्ने नयाँ प्रचार–योजना तय गरिनु पर्दछ ।वर्गसङ्घर्षको गति मन्द भएको आजको अवस्थामा वैकल्पिक मिडियाको विकास गर्ने कुरा निकै नै चुनौतीपूर्ण छ । तर, यो असम्भव विषय भने होइन । यसका लागि प्रेस सेन्टर नेपालको नेतृत्व र सिङ्गो संरचनाको प्रभावकारी परिचालन नै प्रमुख आधार बन्न सक्दछ । पार्टीपङ्क्तिदेखि जनस्तरसम्म अध्ययन–संस्कृति खस्कँदै गएको वर्तमान अवस्थाबाट माथि उठ्न सक्नु अपरिहार्य छ । जनपक्षीय पत्रकारिताको रक्षा र विकासका लागि शान्त तलाउजस्तो संगठन नभई विचारधारात्मक ज्वारभाटा पैदा गर्ने जुझारु सङ्गठनको आवश्यकता छ । यो गौरवमय महाधिवेशनमा हुने व्यापक विमर्श र छलफलले निश्चय नै आजसम्म या क्षेत्रमा जाम भएको ढोका खोल्नेछ र यो सङ्गठनले नेपालमा पुनः एक पटक जनपक्षीय पत्रकारिताको विकासमा कुशल नेतृत्व प्रदान गर्नेछ ।
समाज
थप सामाग्री
न्यूरोडको शिव फुड्सलाई ५० हजार जरिवाना, खाद्य वस्तुमा किराको भेट
१५ घण्टा अगाडि
1.6kViews 483 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडस्थित ‘श्री शिव फुड्स प्रा.लि.’ लाई ५०…



