प्रहरी जागिर मात्र होइन, विशिष्ट जीवनशैली हो : आईजीपी दानबहादुर कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवा केवल रोजगारी नभई अनुशासन, समर्पण र जिम्मेवारीले भरिएको विशिष्ट जीवनशैली भएको बताएका छन्।
महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरी सेवामा प्रवेश गर्न लागेका नवदीक्षित इन्स्पेक्टरहरूलाई राज्यले प्रदान गरेको अधिकारलाई सधैं जिम्मेवारीका रूपमा बुझ्न र प्रयोग गर्न आग्रह गरे।
उनले सुरक्षा क्षेत्रमा गरिने लगानीलाई विगतमा ‘अनुत्पादक’ मान्ने क्लासिकल सोचमा अहिले परिवर्तन आएको उल्लेख गर्दै समयअनुकूल, युग सुहाउँदो र प्रभावकारी लगानी आवश्यक रहेको धारणा व्यक्त गरे।
‘शान्ति, सुरक्षा र स्थायित्व बिना विकास सम्भव छैन,’ उनले भने, ‘त्यसैले सुरक्षा क्षेत्रमा गरिने लगानी राष्ट्रको दीर्घकालीन हितसँग जोडिएको विषय हो।’
आईजीपी कार्कीले प्रहरी संगठनले समाजको विश्वास जित्न व्यावसायिकता, इमानदारी र जनमैत्री सेवामा अझ दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिए। दीक्षान्तपछि कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई उनले अनुशासन, नैतिकता र सेवाभावलाई आफ्नो मूल मन्त्र बनाउन आग्रह गरे।
समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले नेपाल प्रहरीलाई अझ सक्षम, विश्वासयोग्य र आधुनिक संस्थाको रूपमा स्थापित गर्न सबै तहका प्रहरी कर्मचारीको भूमिकालाई निर्णायक हुने बताए।

Facebook Comments Box
TOP
498 Shares