लुम्बिनी प्रदेशमा शान्ति–सुरक्षा मजबुत बनाउन प्रहरी महानिरीक्षक कार्कीको कडा निर्देशन

बुटवल ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरूलाई व्यवसायिकता, अनुशासन र जनमैत्री सेवामा केन्द्रित भएर काम गर्न स्पष्ट निर्देशन दिएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा आयोजित निर्देशनात्मक सम्बोधन कार्यक्रममा आईजीपी कार्कीले प्रहरी संगठन जनताको भरोसामाथि टिकेको संस्था भएकाले कुनै पनि बहानामा विश्वास कमजोर हुन नदिन आग्रह गरे। उनले अपराध नियन्त्रण, शान्ति–सुरक्षा, अनुसन्धान तथा सेवाप्रवाहमा कुनै किसिमको लापरवाही स्वीकार्य नहुने स्पष्ट पारे।
महानिरीक्षक कार्कीले सीमा क्षेत्रको संवेदनशीलता उल्लेख गर्दै तस्करी, लागूऔषध कारोबार, संगठित अपराध तथा सामाजिक अपराध नियन्त्रणमा विशेष सतर्कता अपनाउन निर्देशन दिए। साथै, प्रहरी–जनसम्बन्धलाई थप मजबुत बनाउँदै पीडितमैत्री र उत्तरदायी प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।
उनले संगठनभित्र अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम राख्दै प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई सेवाको भावनासहित निर्वाह गर्नुपर्ने बताए। “प्रहरी जागिर मात्र होइन, राष्ट्र र जनताप्रतिको जिम्मेवारी हो,” भन्दै आईजीपी कार्कीले सबै तहका प्रहरीलाई कानूनको शासन सुदृढ गर्न अग्रपंक्तिमा उभिन निर्देशन दिए।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुखसहित वरिष्ठ प्रहरी अधिकृत तथा मातहतका प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Facebook Comments Box
TOP
288 Shares