

रामेछापमा दलहरूको प्रचार तीव्र
रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा राजनीतिक दलहरूले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन् ।
निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउने कार्यतालिका सार्वजनिक गरेपछि जिल्लामा उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय बनेका छन् ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा सोमबारदेखि विभिन्न दलका उम्मेदवारहरू जनसम्पर्क, घरदैलो र कोणसभामा व्यस्त देखिएका छन् । दुई नगरपालिका र ६ गाउँपालिका गरी ६४ वडामा फैलिएको जिल्लामा १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। ती मध्ये तीन जना स्वतन्त्र छन् ।
मतदातालाई आफ्नो पक्षमा पार्न दलहरूले नीति, योजना र कार्यक्रमसहित उम्मेदवारलाई प्रत्यक्ष जनसम्पर्कमा उतारेका छन् । नेपाली कांग्रेसले सोमबार लिखुतामाकोशी गाउँपालिकाका विभिन्न वडामा चुनावी कार्यक्रम सञ्चालन गरेको छ । पार्टीका प्रचार शाखा प्रमुख हिमाल ढुंगेलका अनुसार उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन तय कार्यतालिकाअनुसार प्रचार अभियान अघि बढाइएको हो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि लिखुतामाकोशी गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म उम्मेदवार माधवप्रसाद ढुंगेलको पक्षमा भेटघाट तथा कोणसभा आयोजना गरेको जनाएको छ ।
एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीका अनुसार वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेल लगायतको उपस्थितिमा अभियान सञ्चालन गरिएको हो । फागुन १८ गतेसम्म जिल्लाका सबै वडामा प्रचार–प्रसार तथा जनसम्पर्क कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापले दोरम्बा शैलुङ गाउँपालिकाका विभिन्न वडामा घरदैलो, मतदाता भेटघाट तथा सभा गरेको छ । पार्टीका उम्मेदवार श्यामकुमार श्रेष्ठलाई विजयी गराउने उद्देश्यले प्रचारलाई तीव्र बनाइएको हो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिमाली पालिका उमाकुण्ड गाउँपालिकाको अन्तिम मानव बस्ती गुम्देलको ल्हाछ्योरबाट चुनावी सभा तथा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । उम्मेदवार डा. कृष्णहरि बुढाथोकीको पक्षमा जनसमर्थन जुटाउन अभियान जारी छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी तथा श्रम संस्कृति पार्टी लगायत अन्य दलहरू पनि आ–आफ्नो कार्यक्रमसहित प्रचारमा सक्रिय देखिएका छन् ।
दलहरूको चहलपहलसँगै जिल्ला निर्वाचन कार्यालयले पनि तयारीलाई तीव्र पारेको छ । जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार आइतबारदेखि जिल्लाका सबै ६४ वडामा मतदाता शिक्षा कार्यक्रम सुरु भइसकेको छ । महिला, अपाङ्गता भएका व्यक्ति, वृद्ध–वृद्धालगायत सबै वर्गका मतदातालाई सही मतदान प्रक्रिया, मतपत्र जाँच, स्वस्तिक छाप प्रयोग गर्ने तरिका तथा बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानीबारे स्वयंसेवकहरूले जानकारी दिइरहेका छन् ।जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचनमा रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् । जिल्लाभर ९६ मतदान स्थल र २२८ मतदान केन्द्र तोकिएका छन् । राजनीतिक दलहरूको आक्रामक प्रचार र निर्वाचन प्रशासनको तयारीसँगै रामेछापमा निर्वाचनको माहौल दिनप्रतिदिन तातिँदै गएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१६ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



