रामनवमी आज: श्रद्धा, भक्ति र मर्यादाको सन्देशसहित देशभर उल्लास

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व रामनवमी आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ । चैत्र शुक्ल नवमीका दिन भगवान् श्री रामचन्द्र को जन्म भएको मान्यता अनुसार यस दिन विशेष पूजा, आराधना, जप, पाठ र ध्यान गरिन्छ ।

धार्मिक ग्रन्थअनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्या का सुपुत्रका रूपमा श्री रामचन्द्र को जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । उनलाई विष्णु को सातौँ अवतार मानिन्छ । जन्मसमयमा पुनर्वसु नक्षत्र, कर्कट लग्न तथा चन्द्रमासँग वृहस्पति रहेको शुभ योग परेको धार्मिक विश्वास छ ।

ज्योतिषीय दृष्टिले पनि श्री रामचन्द्र को जन्मकुण्डली अत्यन्तै विशेष मानिन्छ । सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकैसाथ रहने दुर्लभ ग्रहयोग परेको उल्लेख पाइन्छ, जसले उनको असाधारण व्यक्तित्व र आदर्श नेतृत्वको संकेत गर्छ ।

चार नवरात्रमध्ये वासन्तीय नवरात्रको नवमीका दिन जन्मनुभएका श्री रामचन्द्र ले अधर्म र राक्षसी प्रवृत्तिको अन्त्य गरी आदर्श “रामराज्य” स्थापना गरेको विश्वास गरिन्छ । यही कारणले पनि रामनवमीलाई सत्य, न्याय र मर्यादाको प्रतीकका रूपमा लिने गरिन्छ ।

धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी पर्वले समाजलाई मर्यादित, अनुशासित र न्यायपूर्ण शासन प्रणालीको सन्देश दिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार रामजस्तै आदर्श नेतृत्वको अपेक्षा र प्रेरणा यस पर्वले प्रदान गर्छ ।

शास्त्रीय मान्यताअनुसार चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरी नवमीका दिन श्री रामचन्द्र को विधिपूर्वक आराधना, जप, पाठ र ध्यान गरेमा मनोकामना पूरा हुने विश्वास छ । यस दिन देवी पूजा समेत गर्ने परम्परा रहेको छ ।

रामनवमीका अवसरमा जनकपुर र अयोध्या लगायतका धार्मिक स्थलहरूमा भव्य उत्सव तथा रामलीला प्रदर्शन गरिन्छ, जसले पर्वलाई अझ आकर्षक बनाउने गर्दछ ।

यसै अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । रामनवमी पर्वले धार्मिक आस्था मात्र नभई नैतिकता, कर्तव्य र आदर्श जीवनशैलीतर्फ प्रेरित गर्ने सन्देशसमेत बोकेको छ ।

Facebook Comments Box
TOP
270 Shares